काठमाडौं, ३० चैत्र । राजनीतिक दलहरुलाई चुनाव दशैं आएजस्तै हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिइसकेको छ । राजनीतिक दलहरुले स्थानीय तहको चुनावी प्रचार अभियानलाई तिब्र बनाइरहेका छन् । निर्वाचन अयोगले चैत्र २५ बाट आचारसंहिता समेत लागु गरिसकेको छ । आयोगले लागु गरेको आचारसंहिता पालना गर्ने दलहरुले प्रतिवद्धता जनाएपनि व्यवहारत आचारसंहितको उल्लघंन भैरहेका छन् ।
निर्वाचन प्रचारप्रसारकै सन्दर्भमा नेकमा माओवादी केन्द्रले सरकारी ओहदामा बसेका कर्मचारी देखि मन्त्री सम्मको फोटो प्रयोग गरेर पोष्टर तयार पारेको पाइएको छ । चुनावी प्रचार सामग्रीमा अर्थमन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर सार्वजनिक भएपछि माओवादी पार्टीको आलोचना भैरहेको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको तस्वीर प्रचारमा प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै चौतर्फी आलोचना भएपछि तस्वीर हटाइएको माओवादी स्रोतले जनाएको छ ।
निर्वाचन आचारसंहिता, २०७८ को दफा ६ मा संवैधानिक तथा सोका पादाधिकारी, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले आचार संहिता पालना गर्नुपर्ने व्यवस्था गरेको छ । सोही दफा ६ को खण्ड ७१ को (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाइने उल्लेख गरेको छ । आचारसंहिता अनुसार मन्त्री शर्मा र घिसिङको तस्वीर निर्वाचनको प्रचारप्रसार सामग्रीमा प्रयोग गर्न मिल्दैन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनावी प्रचार सामग्रीमा प्रयोग भएको आफ्नो फोटो हटाउन माओवादीलाई आग्रह गरेका थिए । ‘म राष्ट्र सेवक कर्मचारी हुँ’, घिसिङले सञ्चाकर्मीसँग भने ‘मेरो तस्वीर प्रयोग भएको देखेकोले मैले हटाउन भनिसकेको छु ।’ कुलमानको र जनार्दनको फोटो भएको प्रचार सामग्रीलाई प्रचण्डले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका थिए । तर चौतर्फी आलोचनापछि प्रचण्डले समेत उक्त सामग्री आफ्नो सामाजिक सञ्जालबाट हटाएका छन् ।
माओवादी केन्द्रले चुनावी प्रचार सामग्रीमा प्रचण्ड, कुलमान र जनार्दनको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखेको थियो । तर कुलमान र जनार्दनको फोटो हटाएपछि प्रचण्डको मात्र फोटो राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको सामग्री सार्वजनिक गरिएको छ । विश्लेषकहरले भने दलहरुले आफूलाई लोकप्रिय र राम्रो देखाउने क्रममा आचारसंहिता भूल्ने गरेको बताएका छन् ।
पदम भुजेल
