काठमाडौ, ३० चैत्र । स्थानीय निर्वाचनमा मनोनयनअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने वा नपर्ने विवादमा सर्वोच्च अदालतले वैशाख ४ मा सुनुवाइ हुने भएको छ ।
निर्वाचन आयोगले आचारसंहितामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि अहिलेका जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्नु पहिल्यै राजीनामा दिएकाे हुनुपर्ने उल्लेख छ ।
सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सो प्रावधानविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
शेर्पाले दायर गरेको उक्त रिटमा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरी तत्काल आचारसंहिताको उक्त प्रावधान कार्यान्वयन नगर्न भनेको थियो । त्यसपछि अन्तरिम आदेशका लागि चैत १३ गते पेसी तोकिएकोमा सुनुवाइ भएकाे थिएन ।
निर्वाचन आयोग सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश खारेज गरिपाउँ भनेर अर्को रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको थियो । आयोगले निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट र आयोगको निवेदनलाई सँगै राखि वैशाख ४ गते सुनुवाइका लागि पेसी तोकेको हो ।
