काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले स्थानीय तह निर्वाचन घोषणापत्र पारित गरेको छ।
महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित तयारी समितिले तयार पारेको घोषणापत्रको मस्यौदालाई कार्यसम्पादन समिति सदस्यका सुझावहरु समेटेर पारित गरेको हो।
घोषणापत्र तयारीसम्बन्धी छलफल गर्न बुधबार अपराह्न केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बसेको थियो। सबैले दिएकाे सुझावलाई समेटेर पारित गरिएको हो।
तयारी समितिले वैशाख ११ गते लोकतन्त्र दिवसका दिन घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरे पनि केन्द्रीय कार्यसमितिबाट पारित भएपछि सार्वजनिक हुने दिनको टुंगो लाग्नेछ।
यस्तै, बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक सूचीमा भएका उम्मेदवारहरुले नाम फिर्ताका लागि दिएको आवेदनका आधारमा सम्बन्धित जिल्ला पार्टीको सिफारिसमा फिर्ता गर्ने निर्णय गरेको छ ।
आजको बैठकमा आसन्न निर्वाचनमा चुनावी तालमेल गर्ने पाँच दलीय उच्चस्तरीय चुनावी संयन्त्रको निर्णयबारे जानकारी गराइएको थियो।
