काठमाडौं, १ बैशाख । निर्वाचन आयोगले नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ। नेकपा माओवादी केन्द्रको चुनाव प्रचार प्रसार सामग्रीमा घिसिङको तस्वीर समावेश भएको थियो।
आयोगले घिसिङलाई फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर स्पष्टीकरण माग्ने निधो गरेको स्रोतले जानकारी दिएको छ। आयोग स्रोतका अनुसार सहमति होइन भने त्यस्तो फोटो सहितको प्रचारसामग्री देख्दादेख्दै आयोगमा किन उजुरी गर्नुभएन भनेर सोध्ने निर्णय भएको हो।
निर्वाचन आचारसंहिता, २०७८ को दफा ६ को खण्ड (क) मा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी समेतले पालना गर्नुपर्ने आचरण उल्लेख गरिएको छ । घिसिङको तस्बिर चुनावी पोस्टरमा राख्नुले उक्त व्यवस्था उल्लंघन भएको आयोगको भनाइ छ । आयोगले किन कारबाही गर्न नपर्ने हो भन्नेबारे स्पष्ट पार्न भनेको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले उर्जासम्बन्धी निर्वाचन प्रचार सामग्री सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । जसमा अध्यक्ष दाहाल, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर थियो । घिसिङले सार्वजनिकरुपमा आफ्नो तस्बिर निर्वाचन सामग्रीमा राखिएकोप्रति आपत्ति जनाउँदै हटाउन भनेका थिए । त्यसपछि उनको तस्बिर माओवादीले पोस्टरबाट हटाएको थियो ।
