काठमाडौं, २ बैशाख । नेकपा एमालेले पोखरा महागरको मेयर पदको उम्मेदवार छान्नका लागि आज आन्तरिक मतदान गर्ने भएको छ। लामो समयको छलफलमा समेत सहमति नभएपछि आज मतदान हुने तयारी भएको हो।
२०७४ को निर्वाचनमा पनि आन्तरिक प्रतिस्पर्धाबाटै मेयर र उपमेयरको नाम टुंग्याइएको एमाले पोखराले आउँदो निर्वाचनका लागि मेयर तथा उप मेयर पदमा सहमति जुटाउन नसकेको हो।
उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको आआफ्नै समूह छ । जिल्ला अधिवेशनमा पनि दुई पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए ।े
अब मेयरको आकांक्षा राखेका १२ जनामध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम सिफारिस हुनेछ । पोखरा महानगर कमिटीले शुक्रबार दिउँसो १२ बजे मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
यसअघि आकांक्षाका रुपमा नाम टिपाएकाहरु बाहेकले समेत मनोनयन गर्न पाउने छन् । सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ । एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो । निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने शुक्रबार बिहान मनोनयनको कार्यक्रम छ । यसअघि मंगलबार आकांक्षीको नाम टिपिए पनि पुनः नयाँ प्रक्रियाबाट मनोनयन गर्न लागिएको हो ।
मेयरमा १२ जनाले आकांक्षा देखाएका थिए भने उपमेयरमा ११ जनाको नाम टिपिएको थियो । मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, महानगरका पुर्व अध्यक्ष दिपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले आकांक्षा देखाएका थिए ।
