काठमाडाैं,२ बैशाख । स्थानीय तहको निर्वाचन परिचालनका लागि सत्तारूढ दल नेपाली कांग्रेसले ७ प्रदेश र ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ। सात प्रदेशमा सात जना सहमहामन्त्रीलाई र जिल्लातहमा केन्द्रीय सदस्य लाई परिचालन गर्ने तयारी भइरहेको हो ।
निर्वाचन परिचालन समितिको आजको बैठकले निर्णय गरेर नेताहरुलाई जिम्मेवारी दिइ भुगोलमा पठाउने छलफल भइरहेको नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा स्थानीय तह निर्वाचन परिचालन समितिका सदस्य नैनसिंह महरले बताए । स्थानीय तहको निर्वाचन आउन २८ दिन मात्रै बाँकी छ । निर्वाचन आयोगले चुनावी आचारसंहिता समेत लागु गरिसकेको अवस्थामा नेताहरुले आचार संहितालाई समेत ध्यान दिदै चुनावी अभियान तथा प्रचार प्रशार गर्ने गराउने कांग्रेसले जनाएको छ ।
निर्वाचनका लागि पार्टीले सातै प्रदेशको ७७ जिल्लामा पाँच दलीय सत्ता गठबन्धनको मर्मअनुसार चुनावी गठबन्धन गरेर निर्वाचन लड्ने निर्णय गरिसकेको छ । एक चरण देशव्यापीरुपमा घरघर जाऔं कांग्रेस जिताऔं अभियानकासाथ प्रचार प्रशार गरेर नेताहरु फर्कीसकेका छन् । आब स्थानीय तह निर्वाचनमा गठबन्धन र उमेदवारको टुंगो लगाउन जिल्ला र प्रदेश खटाउने प्रतिनिधि खटाउने तयारी गरेको नेता महरले जानकारी दिए ।
केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकबाट प्रतिनिधहरूको नाम अघि बढाइने उनले बताए ।‘केन्द्रीय प्रतिनिधिहरू ७७ जिल्लामा खटाउने र सात प्रदेशमा सात सहमहामन्त्रीलाई खटाउने भन्ने विषय आज मुख्य छलफल हुनेछ,’ उनले भने । बाँकी निर्वाचनसम्बन्धी बनेका विभिन्न ड्राफ्टहरू माथी समेत छलफल हुने उनको भनाइ छ ।
