काठमाडाैं,२ बैशाख । कैलालीको मोहन्याल गाँउपालिकाका कार्यबाहक अध्यक्षसहित १० जना जनप्रतिनिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी रुपमा राजस्व मिनाहा गरेको आरोपमा गाँउपालिकाका दिवगंत अध्यक्ष नवल सिंह रावल, उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष पूजादेवी बुढामगर, वडाध्यक्षहरु देवीदत्ता उपाध्याय, नविन पुन मगर, खरप्रसाद अधिकारी, छविलाल हौजाली मगर, टेकबहादुर बोगटी, टिकाराम भण्डारी र नन्दराम गिरीविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै अख्तियारले गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराइविरुद्ध पनि मुद्दा चलाएको छ ।
उनीहरुले रोडा, ढुंगा बालुवा संकलनवापत ठेकेदारबाट उठाउनुपर्ने राजस्व मिनाहा गरी ५४ लाख १८ हजार रुपैंया भ्रष्टाचार गरेको अख्तियारले १३ प्रतिशत भ्याट जोडेर विगो कायम गरेको छ । उनीहरुमाथि सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दोब्बर जरिवानाको मागदावी गरेको छ ।
आरोपितमध्ये गाउँपालिका अध्यक्ष रावलको निधन भइसकेकाले सजाय र जरिवानाको माग दावी गरेको छैन । तर उनको अंश खाने परिवारका सदस्यहरुबाट विगो बमोजिमको रकम असुल्नुपर्ने मागदावी अख्तियारले गरेको छ । गाँउपालिकाका तत्कालीन प्रमुख प्रशाकीय अधिकृत गणेशदत्त ओझाले पहिलो किस्ताबापतको कबोल अंक रकम, ठेकदारबाट शर्तबमोजिम सम्झौताका बखत नगद जम्मा गर्न नलगाएको आरोप लगाएको छ ।
