काठमाडौं, ३ बैशाख । नेपाली कांग्रेको केन्द्रीय समितिलाई दबाबदिन चितवनमा राजीनामा अभियान थालिएको छ। चितवनको भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार कांग्रेसबाट हुनुपर्ने भन्दै केन्द्रलाई दबाब दिन स्थानीय कार्यकर्ताले राजीनामा अभियान चलाएका हुन्।
गठबन्धनको चैत्र २९ गते बसेको बैठले भरतपुर महानगरमा मेयरका लागि माओवादी केन्द्रलाई नै सहमति गर्ने निर्णय गरेको थियो। गठबन्धनले गरेको उक्त निर्णयलाई परिवर्तन गराउनका लागि राजीनामा अभियान संचालन गरेको नेताहरुले बताएका छन्।
अघिल्लो निर्वाचनमा पनि माओवादीसँग चुनावी तालमेल गरेको नेपाली कांग्रेसले माओवादी केन्द्रलाई नै मेयरको पदमा मतदान गरेको थियो। स्थानीय कार्यकर्ताहरुले गठबन्धनको मर्मअनुसार अहिले कांग्रेसले मेयरको पद पाउनु पर्ने अडान राखेका छन्।
यसअघि वडा सभापतिहरूले भरतपुरका हरेक वडामा स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेका थिए ।
