काठमाडाैं,४ बैशाख । स्थानीय तहको निर्वाचनमा मनोनयन तर्दा गर्ने दिन एक हप्ता बाँकी रहदा गठबन्धन दलहरुले उम्मेदवारको ढुंगो लगाउन सकेका छैनन् । सत्ता गठबन्धन पाँच दलबीच निर्वाचनमा तालमेल गर्ने निर्णय भएपनि महानगर र उपमहानगरको नेतृत्व भागबण्डामा सकस देखिएको हो । ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको नेतृत्वबारे टुंगो लगाउन आइतबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
बैठकमा सबै दलका नेताहरूले पेश गरेका आ–आफ्नो दाबीमा अड्डी कसेपछि भागबण्डामा कुरा मिल्न नसकेको नेताहरुले बताएका छन् । नेकपा माओवादी केन्द्रले भरतपुर महानगर र ४ उपमहानगरमा नेतृत्व दाबी गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगर र ३ उपमहानगरको प्रमुख दाबी गरेको छ भने जसपाले वीरगञ्ज महानगर र ३ उपमहानगर आफूले पाउनुपर्ने अडान राखेको छ । दलहरुको अडानका कारण आजको बैठकले निष्कर्ष निकाल्न नसकेको बैठकमा सहभागि एक नेताले बताए ।
आजकोे बैठकमा नेपाली कांग्रेसले भने कुनै माग नराखेको गठबन्धनको निर्वाचन परिचालन एवं समन्वय समितिका संयोजक तथा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ‘कांग्रेसको अधिकांश महानगर/उप महानगरपालिकामा दाबी छ’, पौडेलले भने, ‘गठबन्ध आजको आवश्यक्ता हो र गठबन्धन गर्न पनि त्यत्तीकै गाह्रो छ ।’ धेरै मागेर मात्रै पनि हुँदैन नी पौडेलले थपे, ‘कसको जनमत कति छ भनेर हेर्नु पर्छ, अहिलेको भाग खोज्ने मात्र नभएर व्यवस्था जोगाउनका लागि हो भनेर सबैले सम्झनु पर्यो ।’
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारसम्म महानगर र उपमहानगरको शक्ति बाँडफाँट टुंगो लाग्ने दाबी गरेका थिए । तर आज भोली नै यो विषय टुंगो लागिहाल्ने अवस्था देखिएको छैन् । चुनावी तालमेलबारे नीतिगत निर्णय केन्द्रबाट भए पनि मुख्य निर्णय स्थानीय संयन्त्रले नै गर्नुपर्ने नेता पौडेलको भनाइ छ । ‘जहाँ हाम्रै बीच प्रतिस्पर्धा छ त्यहाँ स्वस्थ प्रतिस्पर्धा पनि हुनसक्छ’, उनले भने,‘एमाले बलियो भएको ठाउँमा तालमेल जरुर हुन्छ ।’
विशेष चासोका साथ हेरिएका महानगर र उपमहानगरको नेतृत्वमा सबैले आ–आफ्नो अडान कायम राखेकाले शीर्ष नेताहरूबिचको छलफलबाट पछिमात्रै टुंगो लाग्ने अवस्था छ । शीर्ष नेताहरूको बैठक बसेर सहमति जुटाउने प्रयास सोमबार सम्म हुने बैठकमा सहभागि एक नेताले बताए ।
