बुटवल,६ वैशाख। नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको प्रमुख(मेयर) पदको उम्मेद्वारमा खेलराज पाण्डेयलाई सर्वसम्मत सिफारिस गरेको छ । उपप्रमुखमा भने ८ जनाको नाम नगर समितिको बैठकले जिल्ला कार्यसमितिलाइ पठाएको हो ।
बुटवलमा कांग्रेस नगर कार्यसमितिको बैठकले १९ वटै वडाका सभापतिसहित कुल ७३ जनाको उपस्थितीमा बिधानसम्बत नाम जिल्लालाइ पठाइएको नगर सचिव छाया पोखरेलले बताए । यस्तै उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन,जमुना ढकाल, रिता केसी,रिता सेन ओली, गंगा पन्थी, राधा ज्ञवाली र सविता शाक्यको नाम सिफारिस भएको छ ।
नगरको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गर्नुपर्नेछ । एकल नाम सिफारिस भएकाले मेयर पदमा कांग्रेसबाट पाण्डेको उम्मेद्वारी निश्चित भएको सचिव पोखरेलले बताए । पाण्डेयसँगै कांग्रेसबाट क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्साल, व्यवसायी महेशमान सिंह, चुन्नु पौडेल लगायत पनि मेयरका आकांक्षी थिए।
उम्मेद्वार सिफारिस भएका पाण्डे हाल पार्टीका नगर सभापतिसमेत छन् उनी अघिल्लो स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग करिब २४ सय मत अन्तरले पराजित भएका थिए। नेकपा एमालेले बुटवलबाट अहिलेका मेयर शिवराज सुवेदी, बाबुराम भट्टराई, गोपाल राना, तेजेन्द्र केसी, गोमादेवी आचार्य, सावित्रा अर्याल,सूर्यबहादुर भट्टराई, र रामप्रसाद रेग्मीको नाम सिफारिस गरेको छ । अन्य पार्टीले उम्मेदबार टुंगाएका छैनन् ।
कल्पना डुम्रे
