काठमाडाैं,६ बैशाख । नेपाल पत्रकार महासंघले कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार दिपा दाहालको पुनर्वाहालीको माग गर्दै टेलिभिजन परिसरमा धर्ना दिएको छ । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा आज दोस्रो दिन धर्ना बसेको हो ।
पत्रकार दिपा दाहालले कान्तिपुर टेलिभिजनले नियुक्ति पत्र नदिएको, तीन महिनाको करार अवधि पछि म्याद नथपेको तथा पारिश्रमिक समेत नदिएको बताउँदै कान्तिपुरको विरुद्धमा उत्रिएकी छन् । उनको तत्काल पुनर्वहालीको माग गर्दै महासंघले टेलिभिजनको कार्यलय परिसरमा सोमबार धर्ना दिएको थियो भने मंगलबार पनि त्यसलाई निरन्तरता दिइएको छ । महासंघले पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न समेत माग गरेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताए ।
व्यवस्थापन पक्षल पत्रकारको पारिश्रमिक, नियुक्ति र दिपा दाहालको पुनर्वाहालीको विषयमा सकारात्मक नदेखिएपछि आन्दोलनमा जानुपरेको अध्यक्ष पोखरेलको भनाइ छ ।यस्तै, महासंघले श्रमजीजी पत्रकार ऐनको कार्यान्वयन गर, स्ट्रिन्जर र रिपार्टरलाई स्थायी गर, सरकारसँग लिएको सहुलियत पूर्ण ऋणलाई पत्रकारको हितमा लागू गर र विभिन्न बहानामा निष्कासित पत्रकारहरुलाई पुनर्बहालीको मागको माग गरेको छ ।
दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता अनेक खाले समस्याहरू विरुद्ध महासंघले धर्ना बस्नुपरेकाे महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले बताए । छलफलबाट यसको निकास नखोजिए सातै प्रदेशका कान्तिपुरका कार्यालयहरुमा आन्दोलन गर्ने र यस मुद्धालाई अन्तराष्टियकरण गरिने उनले चेतावनी समेत दिए ।
महासंघको विरोध कार्यक्रमलाई महासंघका सबै पदाधिकारी सदस्य तथा पत्रकारसँग सम्बन्धीत विभिन्न संघ संगठनहरुले ऐक्यबद्धता जनाएका छन् । महासंघका एसोसियट तथा जिल्ला शाखा, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर लगायत पत्रकारितासँग सम्बन्धीत सम्पूर्ण संस्थाले महासंघको अगुवाइमा भएको आन्दोलनलाई साथ दिएकाले आफूले न्याय पाउने आशा गरेको पिडित पत्रकार दिपा दाहालले बताइन् ।
