‘सर्वमान्य’ नेता बन्न ओलीलाई तगारो

‘सर्वमान्य’ नेता बन्न ओलीलाई तगारो


  • 10.9K
    SHARES
    • मंसिर १२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 16.8K Views

    ‘सर्वमान्य’ नेता बन्न ओलीलाई तगारो

    काठमाडौं, मंसिर १२ । नेकपा (एमाले) को नवौं महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गरेर अध्यक्ष बन्नुभएका केपी शर्मा ओलीलाई पुनः अर्को कार्यकाल सर्वसम्मत अध्यक्ष बनाउने प्रयास एमाले बृत्तमा चल्यो । १० औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनाएर पार्टी नेतृत्वको सिंहाशनमा पुर्याउने ओली पक्षीय नेताहरुको प्रयासलाई उपाध्यक्ष भीम रावलको निर्णयले भने चुनौती दिएको छ ।

    images

    दस बुँदे सहमति कार्यान्वयनको मुद्दालाई प्रमुख असन्तुष्टिको कारण देखाउँदै आउनुभएका रावल ओलीलाई किमार्थ सर्वसम्मत अध्यक्ष छोडिदिने पक्षमा देखिनुभएको छैन । फलतः रावलको अडान कायमै रहे र ओली पुनः अध्यक्ष बन्न चाहेको खण्डमा ओलीलाई चुनावै लड्नु पर्ने अवस्था आउने छ । यतिमात्रै होइन, रावलको अध्यक्ष बन्ने अडानले एमालेको ‘सर्वमान्य’ नेता बन्ने इतिहास रच्नबाट ओली वञ्चित हुनुहुनेछ ।

    पार्टीको सातौं महाधिवेशनयता एमालेमा वैचारिक प्रतिष्पर्धाको संस्कृति हराएसंगै एमालेमा चुनावी प्रतिष्पर्धा हुँदै आएको छ । फलतः ओली सर्वसम्मत हुनुभएको भए एमालेभित्रका अर्का सर्वमान्य नेताको सूचीमा ओलीको नाम एमाले इतिहासमा कायम हुने सम्भावना थियो ।

    त्यसो त, एमालेको पुरानो कालखण्डमा चुनावी प्रतिष्पर्धाले स्थान पाउँदैनथ्यो । कम्युनिष्ट राजनीतिका जानकार डा. सुरेन्द्र केसीका अनुसार, त्यो बेला कसको विचार उच्च भन्ने विषयले महत्त्व राख्थ्यो । वैचारिक प्रतिवेदन गतिलो भएकै नेतृत्वमा पुग्थे ।
    यो शिलशिला पार्टीको पाचौं महाधिवेशनसम्म कायम थियो । ‘पाँचौ महाधिवेशनसम्म कसको विचार उच्च भनेर वैचारिक प्रतिष्पर्धा हुन्थ्यो’, डा. केसीले भन्नुभयो– ‘तर, छैठौंपछि भने एमालेमा वैचारिक प्रतिष्पर्धा हरायो, एजेण्डाको लडाइँ सुरु भयो ।’  
    केसीका अनुसार, २००६ सालमा स्थापना भएको तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन २०१० सालमा भयो । यो बेला मनमोहन अधिकारीको वैचारिक दृष्टिकोणलाई उच्च मानियो । अनि उहाँ महामन्त्री चुनिनुभयो । २०१४ सालमा भएको दोस्रो महाधिवेशनमा दुई आकांक्षीको वैचारिक दृष्टिकोण पेश भए । एक थिए संस्थापक पुष्पलाल अनि अर्का थिए डा. केशरजंग रायमाझी ।

    डा. केसीका अनुसार, विचारमा पुष्पलालले बाजी मारे तर नेतृत्वमा रायमाझी आउनुभयो । सत्र सदस्यीय केन्द्रीय समिति चयन भयो । तीमध्येका १२ जनाले पुष्पलाललाई मत दिएनन् र १२ मतसहित केशरजंग रायमाझीले पार्टीको महासचिवमा बाजी मार्नुभयो ।

    विक्रम संवत २०१९ मा भएको पार्टीको तेस्रो महाधिवेशनमा तुलसीलाल अमात्यले नेतृत्वमा बाजी मार्नुभयो । त्यतिबेला पनि कम्युनिष्टको सिद्धान्त अनुरुप वैचारिक प्रतिष्पर्धा भएको थियो ।  

    कम्युनिष्ट पार्टीहरुको जन्मसंगै अलग रहेका अन्य कम्युनिष्ट घटकहरुको एकतापछि २०३५ मा नेकपा (माले) बन्यो । त्योभन्दा अघि मदन भण्डारी, जीवराज आश्रितहरुले फरक घटकको नेतृत्व गरिरहनुभएको थियो ।

    अन्य कम्युनिष्ट घटकहरु मिलेर बनेको नयाँ पार्टी मालेको २०४६ मा महाधिवेशन भयो ।  यसलाई एमालेले आफ्नो चौथो अधिवेशन मान्ने गरेको छ । त्यतिबेला पार्टीको महासचिवमा मदन भण्डारी चयन हुनुभयो ।

    अर्को वर्ष अर्थात २०४७ मा माले र नेकपा (माक्र्सवादी) बीच एकीकरण भएपछि नेकपा (एमाले) बन्यो । त्यसपछि एमालेको पहिलो तथा मालेको पाँचौं महाधिवेशन २०४९ माघमा भयो । यो महाधिवेशनबाट मदन भण्डारी पुनः महासचिव बन्नुभयो । महासचिव बनेको ३ महिनामा उहाँको निधन भयो ।

    नेपाली कम्युनिष्ट आन्दोलनका जानकार दाङका सुरामणि बेलबासेका अनुसार, २०५० जेठ ३ गते भण्डारीको निधनपछि माधवकुमार नेपाल महासचिव हुनुभयो । ‘अध्यक्ष मण्डलमा रहेकाले मदन भण्डारीको निधनपछि नेपाल महासचिव बन्नु भयो,’ बेलबासे भन्नुहुन्छ ।

    नेपालगन्जमा २०५४ मा भएको छैठौं महाधिवेशनबाट भने एमालेभित्रको वैचारिक प्रतिष्पर्धाको संस्कृति हरायो । यो महाधिवेशनमा महाकाली सन्धिको एजेण्डामा प्रतिष्पर्धा भयो । महाधिवेशनको बहुमतले त्यो सन्धिलाई अस्वीकार गर्यो तर बामदेव गौतम, सहाना प्रधानले यसप्रति विमति राख्दै एमालेलाई फुटाएर नेकपा (माले) गठन गर्नुभयो ।

    ‘छैठौं महाधिवेशनदेखि एमालेभित्रको वैचारिक प्रतिष्पर्धाको संस्कृति हट्यो’, कम्युनिष्ट राजनीतिका जानकार डा. सुरेन्द्र केसी भन्नुहुन्छ– ‘छैठौं महाधिवेशनमा महाकाली सन्धिको एजेण्डा प्रतिष्पर्धाको प्रमुख विषय बन्यो ।’

    बामदेब गौतमहरुको अनुपस्थिति रहेको एमालेको सातौं महाधिवेशनले पुनः माधवकुमार नेपाललाई महासचिव बनायो । यो महाधिवेशन २०५७ मा जनकपुरमा भएको थियो ।

    वैचारिक प्रतिष्पर्धाबाट एजेण्डागत प्रतिष्पर्धामा प्रवेश गरेको एमालेभित्र आठौं महाधिवेशनसम्म आइपुग्दा चुनावी प्रतिष्पर्धाको संस्कृति सुरु भयो । केसी भन्नुहुन्छ– ‘कम्युनिष्ट पार्टीभित्र वैचारिक लडाइँ हुनुपर्ने सिद्धान्त छ, जसको नीति उसको नेतृत्व भन्ने सिद्धान्त कम्युनिष्टहरुको हो तर चुनावबाटै नेतृत्व चयन गर्ने अवस्थामा एमाले पुग्यो, यो कम्युनिष्ट सिद्धान्त अनुकूल होइन ।’

    बुटलमा भएको आठौं महाधिवेशनबाट एमालेमा चुनावी प्रतिष्पर्धा सुरु भयो । अध्यक्षात्मक प्रणालीमा गएको एमालेमा झलनाख खनाल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीले चुनावमा प्रतिस्पर्धा गर्नुभयो । चुनावी मतपरिणाम खनालको पक्षमा आयो, ओलीले अध्यक्षमा हार्नुभयो ।

    नवौं महाधिवेशनमा भएको चुनावी प्रतिष्पर्धाबाट केपी शर्मा ओलीले माधवकुमार नेपाललाई हराए र पहिलो पटक एमालेको नेतृत्व हात पार्नुभयो ।

    पहिलो पटकको हार, दोस्रो पटक चुनावी प्रतिष्पर्धाबाट भएको जीतसँगै ओलीलाई दशौं महाधिवेशनमा सर्वमान्य नेता बन्ने गतिलो अवसर बन्दै थियो । पुराना प्रतिष्पर्धीहरु नेपाल र खनाल पार्टी विभाजन गरेर फरक दलमा रहनुभएका बामदेव गौतम तटस्थ बसेको अवस्थामा ओली एमालेभित्र एक्लो कमाण्डरका रुपमा रहनुभयो ।

    फलतः सम्भावित प्रतिष्पर्धीहरु पार्टीबाट बाहिरिएपछि ओलीलाई एमालेभित्रको सर्वमान्य नेता बन्ने लख एमालेवृत्तमा काटिएको थियो नै तर दोस्रो तहका नेता भीम रावलसँगको टकरावले भने ओलीलाई एमालेको सर्वमान्य नेता बन्ने आशंका कायम भएको छ।

  • सम्बन्धित विषय:

  • # एमाले
  • # केपी शर्मा ओली
  • # अध्यक्ष

  • तेस्रो आँखा