काठमाडौं, ६ वैशाख । मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र र प्रतिवद्धतापत्रमा मानव अधिकारका विषय समावेश गर्न आग्रह गरेको छ। आयोगका सहसचिव डा. टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै आगमी वैशाख ३० गते हुने निर्वाचनमा भाग लिने सबै दलहरुलाई त्यस्तो आग्रह गरेको हो।
विगतमा राजनीतिक दलहरुले आफ्ना घोषणापत्रमा मानव अधिकारका विषयलाई समावेश गरेकोमा सराहना गर्दै दलका आगामी घोषणापत्रमा अझ स्पष्टताका साथ मानव अधिकारका विषय समावेश हुनेछ भन्ने आयोगले अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।
'लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार र आवधिक निर्वाचन समेतको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने नेपालको संविधानको लक्ष्य रहेको र त्यसको कार्यान्वयनको प्रमुख जिम्मेवारी राजनीतिक दलहरूको रहेको कुरा आयोग सबै दलहरुलाई स्मरण गराउँदछ,' विज्ञप्तिमा भनिएकाे छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २० मा उल्लिखित राजनीतिक दलको काम, कर्तव्य र अधिकार अनुरुप पनि दलहरुले आफ्ना क्रियाकलापलाई मानव अधिकारमैत्री बनाउनुका साथै घोषणापत्रमा समेत मानव अधिकारका विषयवस्तु समावेश गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

