काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किदै छन् । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएअनुसार अधिकारी आजबाट नियमित काममा फर्कन लागेका हुन् । उनी १२ दिनपछि कार्यालय जाँदैछन्।
अधिकारी मन्त्रिपरिषद् बैठकले चैत्र २४ गते गरेकाे निर्णयअनुसार चैत्र २५ बाट निलम्बनमा परेका थिए । न्यायाधीश हरि फुयाँलको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।
मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाे छ । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि वैशाख १३ गते बोलाएको छ ।
