काठमाडाैं, ८ वैशाख । वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले तालमेल गर्ने भएका छन् ।
बिहीबार वीरगन्जमा संयुक्त पत्रकार सम्मेलन गरी दुई पार्टीबीच तालमेलको सहमति भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एमाले सचिव रघुवीर महासेठ, लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण र वीरगन्जका मेयर विजय सरावगीलगायतका नेता रहेका थिए । सरावगी केहीअघि मात्रै जनता समाजवादी पार्टीबाट एमालेमा प्रवेश गरेका हुन् ।
एमाले र लोसपाबीच भएको सहमतिअनुसार आगामी स्थानीय तहको चुनावमा एमालेले मेयर र लोसपाले उपमेयरमा उम्मेदवारी दिने छ । एमालेले मेयर सरावगीलाई नै निरन्तरता दिने गरी सिफारिस गरिसके पनि लोसपाले उपमेयरमा कसलाई उठाउँछ भन्नेबारे खुलाएको छैन । सत्ता गठबन्धनबाट मेयरमा जसपा र उपमेयरमा कांग्रेस उम्मेदवार उठ्ने निर्णय भैसकेको छ ।

