काठमाडौं, ९ वैशाख । निर्वाचन आयोग नेपालले आसन्न स्थानीय तह निर्वाचनको तयारी तिब्र बनाएको छ । वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले मतदाता नामावली तथा परिचयपत्र छपाई, मतपत्र छपाई, निर्वाचन अधिकृतको कार्यालय व्यवस्थापन, कर्मचारी तालिम लगायतका काम धमाधम गरिहरेको हो ।
निर्वाचन तयारी अन्र्तगत गत ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । त्यस्तै ५२ प्रकारका निर्वाचन सामग्री तयारी, मतपत्र छपाई, मतदाता नामावली तथा परिचयपत्र छपाईको काम अन्तिम चरणमा रहेकोे आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले जानकारी दिए । मतदाता शिक्ष, कर्मचारी तालिम लगायतका कामहरु समेत अघि बढाईएको उनले तेस्रो आँखालाई बताए ।
७७ जिल्ला तथा ७५३ स्थानीय तहमा तयार गरिएको निर्वाचन अधिकृतको कार्यालय र त्याहा आवश्यक जनशक्ति व्यवस्थापनमा मात्र साढे पाँच अर्ब भन्दा बढी खर्च हुने अर्यालले बताए । ‘सबै स्थानीय तहमा निर्वाच अधिकृतको कार्यालय स्थापना भैसेको छ,’ उनले भने, निर्वाचन अधिकृतको कार्यालय र त्यहा आवश्यक जनशक्ति व्यवस्थापनमा मात्रै साढे पाँच अर्ब भन्दाबढी खर्च हुने भएको छ ।’ आठ अर्ब १४ करोड खर्च गर्ने योजना बनाएको आयोगले ८० प्रतिशत ७७ वटा निर्वाचन कार्यालय र ७५३ वटा निर्वाचन अधिकृतको कार्यालय तथा जनशक्ति व्यवस्थापनमा खर्च हुने जनाएको छ ।
बाँकी २० प्रतिशत भने आयोगबाट खर्च हुने छ ।आयोगले खर्च गर्ने मध्य ५२ प्रकारका निवर्वाचन सामग्रीमा ७० करोड, कागज तथा मतपत्र छपाईमा ३५ करोड, मतदाता शिक्षामा २४ करोड र सामग्री ढुवानीमा ५ करोड खर्च हुने सुचना अधिकारी अर्यालले बताए । नामावली तथा परिचयपत्र छपाइमा १० करोड खर्च हुने अर्यालका भनाइ छ । आगामी स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख मतदाताले भाग लिने छन् । जस मध्य नयाँ मतदाता ३७ लाख र पुराना १ करोड ४० लाख रहेका छन् । हालसम्म १ करोड २० लाख मतपत्र छपाईको काम भने सकिएको सूचना अधिकारी अर्यालले जानकारी दिए । नयाँ मतदाताहरुका लागि मात्रै परिचय पत्र छपाइको काम गर्ने आयोगले जनाएको छ । ०७४ मा कायम भएका मतदाताहरुको परिचय पत्र पुरानै भएकाले नयाँ छपाइ नगर्ने निर्णय भएको पनि अर्यालले बताए ।
