काठमाडाैं,१० वैशाख । स्थानीय तहको निार्वचनमा सत्ता गठबनधनले सहकार्य गरेर जाने निर्णय गरेसँगै गठबनधनभित्र भाँडभौलो मच्चीएको छ । नेपाली कांग्रेस र कम्युनियष्टबीचको गठबनधले शैद्दान्तिक र बैचारिक विचलन ल्याउने भन्दै कार्यकर्ता तहमा निराशा छाएको छ । गठबन्धन दलहरुबीच चुनावी तालमेल गरेर जाने निर्णयहरु हुँदै गर्दा जिल्ला जिल्लाबाट नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यकर्ताहरु तितर वितर हुन थालेका छन् ।
यसमा सबै भन्दा बढी नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टीबाट सामुहिक राजीनामा देखि बाघी उम्मेदवार दिने सम्मका चेतावनी नेतृत्व लाइ दिएका छन् । चुनावी समिकरण गर्दा टिकट वितरणमा भागबण्डा नमिल्दा पार्टीको आन्तरिक सांगठनिक संरचना समेत खल्बलिएको छ । गत स्थानीय तहको निर्वाचनमा चितवन लगायत केही स्थानीय तहमा गरिएको तालमेलको असरले अहिले थप प्रभाव पारेको नेताहरुको बुझाइ छ । तर केन्द्रीय नेतृत्व जसरीपनि गठबन्धनलाई भुगोल सम्म लैजाने र भागबण्डामा टिकट वितरण गरेर जाने पक्षमा देखिएको छ ।
पार्टी नेतृत्वको निर्णय विरुद्ध जिल्ला र स्थानीय तहका कार्यकर्ताहरुले असन्तुष्टी जनाउँदै धमाधम पार्टीबाट राजीनामा दिन थालेका छन् भने कतिपय स्थानीय तहमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिने धम्की दिइरहेका छन् । देशभर निकै राम्रो र पुरानो संगठन रहेको नेपाली कांग्रेसले गठबन्धनका नाममा नयाँ पार्टीका नयाँ कार्यकर्ताहरुलाई टिकट दिएर कांग्रेसले भोट हाल्नु पर्ने बाध्यात्मक अवस्था सृजना गरेको भन्दै स्थानीय तहका नेता कार्यकर्ताहरुले पार्टी छाड्नेक्रम जारी छ । नेकपा माओवादीका कार्यकर्ताहरुले पनि पार्टी बलियो भएका ठाउँहरुमा अरु दललाई भोट हाल्न नसकिने भन्दै राजीनामा गरिरहेका समाचारहरु बाहिरिएका छन् ।
यसले गठबन्धनलाइ त असर गर्छ नै सम्बन्धीत राजनीतिक दलको संगठन विलय हुदै जाने सम्भावना बढी देखिन्छ। गठबन्धनबाट उम्मेदवार उठाउने पार्टीको निर्णयमा असन्तुष्टी जनाउँदै कैलालीमा वडा सभापतिसहित ९५ जनाले राजीनामा दिएका छन् । नेपाली कांग्रेसका धनगढी उपमहानगरपालिका १८ का वडा सभापति भक्त थापासहित उनीहरूले शुक्रबार जिल्ला पार्टी कार्यालयमा पुगेर सामूहिक राजीनामा दिएका हुन ।
त्यस्तै नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर कार्यसमितिका सभापति मनोज साहसहितका पदाधिकारील शुक्रबार नै सामूहिक राजीनामा घोषणा गरेका छन् । जनकपुरधाममा पत्रकार सम्मेलन गरी कांग्रेस उपमहानगर सभापति साह, सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादवले राजीनाको घोषणा गरेका हुन् । सत्ता गठबन्धनले गरेको भागबण्डामा जनकपुरधाम जसपाको भागमा परेपछि आक्रोशित बनेका उनीहरुले साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेको बताएका छन् ।
उता रूपन्देहीमा नेपाली कांग्रेसकास्थानीय नेताहरुले पार्टीको साधारण सदस्यसमेत नरहने गरी बुधबार नै राजीनामा दिएका छन् ।
रूपन्देहीका नेता मातृका यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस रूपन्देहीका पूर्व क्षेत्रीय सभापति यादव शुक्रबार जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । वीरगञ्ज महानगरपालिकाबाहेक अन्य पालिकामा पाँच दलीय गठबन्धनले चुनावी तालमेल नगर्ने भएका छन् । ओखलढुंगाको चिशंखुगढी गाउपालिकामा माओवादी केन्द्रलाई नेतृत्व स्वीकार नगर्ने भन्दै पुराना नेता गाउपालिकाका पूर्व प्रत्यासी समेत रहेका टेकराज भट्टराई, शिक्षक संघका संस्थापक केन्द्रीय सदस्य उत्तरकुमार कट्वाल सहितका नेताहरुले असन्तुष्टि जनाएका छन् । आठ स्थानीय तह भएको ओखलढुंगामा कांग्रेस–माओवादी मात्रै एलाएन्स गरेको भन्दै जसपा र एकीकृत समाजवादीले आफ्ना छुट्टै उम्मेदवारहरु तयार गरेको छ ।
सिन्धुलीको मरिणमा चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । सत्ता गठबन्धनले टिकट बाँडफाँड गर्ने क्रममा मरिण गाउँपालिकाको उपाध्यक्ष नेपाली कांग्रेको भागमा परेको छ । मरिण गाउँपालिका माओवादीको ‘आधार इलाका’का भएको भन्दै मरिण गाउँ कमिटीका ७८ जना माओवादी कार्यकर्ताले शुक्रबार सामूहिक राजीनामा दिएका हुन् ।
माओवादीले आफ्नो आधार इलाका अरु दललाई दिएको भन्दै तल्ले तहका कार्यकर्ताहरुमा तिब्र असन्तुष्टि जनाएको छ भने देशभरका धेरै जसो स्थानीय तहमा नेपाली कांग्रेसका कार्यकर्तालाई माओवादी र समाजवादीलाई भोट हाल्न बाध्य बनाएकोमा पार्टी छाड्ने देखि बाघी उम्मेदवार बन्ने सम्मका हर्कत देखिन थालेका छन् ।
भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । असन्तुष्ट पक्षले आज साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसबाट उम्मेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता कार्यकर्ताहरू रुष्ट बनेका छन् । यसअघि जिल्ला सभापति पनि महानगरको मेयर नछाड्ने पक्षमा थिए । गठबन्धनको निर्णय भएपछि खनालले केन्द्रीय परिपत्र विपरीत गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।
त्यसपछि झनै रुष्ट बनेका कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्व सांसद जगन्नाथ पौडेललगायतका नेताहरूले सभापति खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । जिल्ला पार्टी कार्यालयमा भएको भेला पश्चात् उनीहरूले तालाबन्दी गरेका हुन् । गठबनधन भित्र देखिएको बैमनश्यताले स्थानीय तहको निर्वाचनमा निकै ठाउयँ असर पर्ने सहज विश्लेषण् गर्न सकिन्छ ।
स्थानीय तहमा तालमेल गरेर जाने निर्णय गरेर नेपाली कांग्रेसले सबैभन्दा ठूलो गल्ती गरेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।‘चुनावी तालमेल प्रदेश र संघीय निर्वाचनमा गर्दा खासै असर देखिदैनथ्यो’, राजनीतिक विश्लेषक पुरञजन आचार्यले भने,‘अहिले कांग्रेसले स्थानीय तहमा तालमेल गरेर ठूलो गल्ती गरेको छ, यसको परिणाम चाडै भोग्ने छ ।’ देशभर कांग्रेसको संगठन सबैभन्दा राम्रो भएकोवेलामा कार्यकर्तालाई अन्य दलको चुनाव चिन्हमा भोट हाल्न लगाउनु नेतृत्वको मूर्खता भएको उनको भनाइ छ ।
