काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले स्थानीय निर्वाचन, २०७९ को लागि घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले सार्वजनिक गरेको संकल्पमा नेपाली कांग्रेस ओली, नेकपा एमाले र कम्युनिष्टप्रति आक्रमक ढंगबाट प्रस्तुत भएको छ । नेकपाले प्रचण्ड बहुमतका साथ जितेर आएपछिको पाँच वर्षको अवधिलाई नेपाली कांग्रेसले खेर गएको पाँच वर्षको रुपमा चित्रण गरेको छ । यस अवधिकाे नेकपाको सरकारलाई कांग्रेसले अधिनायकवाद र सर्वसत्तावादको सुत्रपातको अवधिको रुपमा घाेषणापत्र मार्फत चित्रण गरेको छ । नेकपाको शासन अवधिभरको समय संविधान र सरकारी संयन्त्रहरुमाथि प्रहार गर्न र जनताको हक अधिकार खोस्न खर्च गरेको पनि कांग्रेसले आफ्नो संकल्पमा आरोप लगाएको छ ।
अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको जनाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संस्थागत गर्न खोजेको अधिनायकवादी तथा सर्वसत्तावादी प्रणालीका लागि जनताको नैसर्गिक अधिकार र राजनीतिक स्वतन्त्रता सबैभन्दा प्रमुख अवरोधक भएको कुरा उल्लेख गरेको छ । संकल्पमा कांग्रेसले नेकपाको सरकार संघीयताविरोधी र निन्त्रणकारी सरकार भएको व्याख्या गरेको छ । आवश्यक कानूनहरु नबनाएको, संविधानमाथि पटक पटक प्रहार गरेको, संघीय, प्रादेशीक र स्थानीय सरकार संघीय प्रणाली अनुसार नचलाएको आरोप लगाएको छ । नेकपाको शासन सञ्चालनको समयमा ओलीको विश्वास पात्रहरु र मुख्यमन्त्रीहरु देखि प्रचण्ड समेतले ओलीले संविधान सिध्याउने कोसीस गरेको आलोचना युक्त आरोप लगाएको कुरा उल्लेख गरेकाे छ ।
त्यस्तै देशका संवैधानिक निकायमा नेकपाले रवैया देखाएको कांग्रेसकाे आरोप छ । संवैधानिक निकायको कम्युनिस्टकरणलाई व्याख्या गर्दै कांग्रेसले राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यमले आलोचना गर्दा गर्दै विभिन्न संवैधानिक निकायमा अघोषित उद्देश्यले प्रभाव पारेको आरोप लगाएको छ । त्यस्तै कम्युनिस्ट सरकार विभेदकारी नागरिकता पक्षधर भएको, कुशासन र भ्रष्टाचारमा लिप्त भएको नेपाली कांग्रेसकाे आरोप छ । एमाले सार्वजनिक सम्पतिको लुट, भ्रष्टाचार र अनियमिततामा लागेको पनि कांग्रेसको आरोप छ । साँस्कुतिक अधिकार हनन गरी गुठीको जमीन भूमाफियाकरण गरेको पनि कांग्रेसले नेकपाको सरकारलाई आरोप लगाएको छ ।
कम्युनिस्ट सरकारको शासन महामारीमा समेत कमिशन र भ्रष्टाचारमा लागेकाे भन्दै कांग्रेसले एमालेले कोभिडको रोकथाम गर्न नसकेको, मानवीय संकटको घडिमा मेडिकल सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाएको छ । तत्कालीन नेकपाका अध्यक्ष पुष्प कमल दाहालले १९ पृष्ठ आरोप पनि यही विषयमा लगाएको भन्दै कांग्रेले त्यसको सहारा लिदै एमाले माथि थप प्रहार गरेको छ । ओलीको सरकारले चोरलाई चौतारो र साधुलाई सुलीको काम गर्देको पनि कांग्रेसकाे आरोप छ । विधिको शासन र मानव अधिकारको दृष्टिले पनि एमालेले गलत काम गरेको कांग्रेसको भनाइ छ । संसद र जनता प्रति उत्तरदायी नभएको, न्यायालयमा समेत प्रभाव र नियन्त्रण राख्न खोजेको पनि कांग्रेसले आरोप लगाएको छ ।
प्रतिनिधिसभा विघटन लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र भएको पनि कांग्रेसले संकल्पमा जोड दिएर उल्लेख गरेको छ । अलोकतान्त्रिक र असंवैधानिकरुपमा प्रतिनिधिसभा दोस्रोपटक विघटन गरेको विषयलाई पनि कांग्रेसले संकल्पमा आलोचना गरेको छ । साथै सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनः स्थापना गर्ने दोस्रो ऐतिहासिक फैसला गरेकोभन्दै कांग्रेसले अदालतको प्रशंसा गरेको छ । साथै कांग्रेसले नेकपा एमाले नै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको जनाएको छ । माओवादी र एमालेनै अदालतबाट जन्मिएको पार्टी भएकोले अन्य अदालतले मान्यता दिएको पार्टीहरुलाई अवैधानिक भनेको भन्दै कांग्रेसको संकल्पले नेकपा एकीकृत समाजवादीको बचाउ गरेको छ । एमालेको विकास र घोषणा उत्ताउलो भएको कांग्रेसकाे आरोप छ । ओलीले गरेको गिनिज बुकको कुरालाई पनि कांग्रेसले महत्वकासाथ टिप्पणी गरेकाे छ ।
करिव १६ पेजसम्म कांग्रेसले ओली, एमाले र कम्युनिष्टलाई प्रहार गर्दै आफूले त्यो समयमा उत्कृष्ट भूमिका खेलेको पुष्टि गर्ने कोसीस गरेको छ । कांग्रेसको संकल्पले शिक्षा, स्वास्थ्य, पूर्वाधार, विपत्ति लगायत हरेक कुरामा खेलेको भूमिकालाई महत्वका साथ देखाएको छ । एमालेलाई प्रहार गर्न भ्याएको कांग्रेसको संकल्पले आफू नेकपाको सरकार हुँदा विपक्षमा बसेको समयमा खेलेको भूमिकालाई महत्वपूर्ण स्थान दिएको छ । साथै जनतालाइ स्थानीय सरकारले दिन सक्ने कुरा मात्रै घाेषणा पत्रमा उल्लेख गरिएकाे नेपालि कांग्रेसका महामन्त्री तथा स्थानीय तह निर्वाचन घाेषणापत्र निर्माण समितिका संयाेजक गगन कुमार थापा बताउँन् ।
पदम भुजेल
