बुटवल, १२ वैशाख । नेपाली कांग्रेसका खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी मनोनयन गरेका छन् । पाँच दलीय गठबन्धनबाट उनले आज दिउँसो १ः०० बजे बुटवल उपमहानगरपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् । यसअघि उनले बिपिको शालिकमा माल्यार्पण गरेर र्यालिसहित नगरपालिका पुगेका थिए ।
पाण्डे नेपाली कांग्रेस बुटवलका लगातार तीन कार्यकालदेखि नगर सभापति समेत छन्। बुटवलमा गठबन्धनको तर्फबाट प्रमुख नेपाली कांग्रेसले पाएको हो । उपमेयर नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । समाजवादीबाट चीनबहादुर गुरुङले पनि उम्मेदवारी मनोनयन गरेका छन् । बुटवलमा कांग्रेसले प्रमुखसहित १६ वटा वडाध्यक्षमा उम्मेदवारी मनोनयन गरेको हो ।
मनोनयन दर्तापछि प्रमुखका उम्मेदवार पाण्डेले बुटवललाई देशकै सबल आर्थिक केन्द्र बनाउने प्रतिवद्वता जनाए । उनले बुटवलको सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने दाबी गरे । उनले बुटवलको सिक्स लेन सडक सुधार गर्ने, मोतिपुर औद्योगिक क्षेत्रलाइ सबैको सहमतिमा अगाडि बढाउने, बुटवललाइ नमुना बनाउने प्रतिबद्धता जनाए ।
कल्पना डुम्रे
