काठमाडाैं,१४ वैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाएका छन् । उनले राज्य र पार्टी संयन्त्र दुरुपयोग गरी धेरै नेता कार्यकर्ताहरूको राजनीतिक हत्या गर्ने षड्यन्त्र भएको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना सहित असन्तुष्टि जनाएका हुन् । नेता कोइरालाले बुधबार जारी विज्ञप्तिमा पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर धेरैको राजनीतिक हत्या गर्ने षड्यन्त्र भएको उल्लेख छ ।
उनले भनेका छन्, सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन् । कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षड्यन्त्र पनि भएका छन् । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ । टिकट वितरण प्रक्रिया र मापदण्डको विषयमा प्रश्न गर्दै विज्ञप्ति मार्फत उनले भनेका छन्,‘कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षासमेत गरिने छ भनेर म साथीहरुलाई विश्वस्त पार्न चाहन्छु ।’
कांग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक योग्य र सक्षम नेता कार्यकर्ताहरुलाई टिकट वितरणमा समानरुपले नेतृत्वले न्याय गर्न नसकेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने कुरा आफूले बारम्बार उठाए पनि ध्यानपूर्वक नसुनिएको उनले बताएका छन् ।
टिकट वितरण कार्यमा जिम्मेवारी पाएकाहरूले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न नसकेको नेता कोइरालाले बताएका छन् । उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको कुरा आएको र निर्वाचन पछि पार्टीभित्र भएका विकृति, विसंगति र आर्थिक चलखेल सबै पक्षको समग्र समीक्षा गरिने विज्ञप्तिमार्फत जनाएका छन् । कांग्रेसका समथर्क, शुभेच्छुक तथा स्वतन्त्र व्यक्तिहरू र भातृ तथा सुभेच्छुक संगठनका नेता कार्यकर्तालाइ आपसी मनमुटाव थाति राख्दै एकताकासाथ चुनावी अभियानमा सहभागि हुन अपिल समेत गरेका छन् ।

