बुटवल,१४ वैशाख। रुपन्देहीको बुटवलमा एउटै पसलबाट साढे ४ किलो सुनचाँदी चोरिएपछि सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । मंगलबार बिहान करिब ३ बजेतिर बुटवल उपमहानगरपालिका–६ स्थित बिपिचोक स्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट साडे चारकिलो बराबर सुनचाँदी र नगद साढे ५ लाख चोरी भएको विरोधमा सबै सुनचाँदी पसल बन्द गरिएको बुटवल सुनचाँदी ब्यबसायी संघका अध्यक्ष गकुल बिश्वकर्माले बताए ।
ब्यबसायीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै श्रृङ्खलाबद्ध चोरीका घटना हुदाँ पनि प्रशासनले चोर पक्रिने र सुनचाँदी फिर्ता गर्न नसकेको भन्दै दुखेसो व्यक्त गरेका छन् । अध्यक्ष बिश्वकर्माले रुपन्देहीमा २ महिनाको अवधिमा चारवटा पसलमा ठूलो मात्रामा सुनचाँदी चोरी हुनु दुखद रहेको भन्दै व्यवसायीक वातावरण बन्न नसेकेकोमा चिन्ता गरे । चोरीमा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन प्रशासनलाई दबाब दिनका लागि पसल बन्द गरिएको सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले २ किलोका सुनका गरगहना, २२ तोला काँचो सुन र नगद ५ लाख चोरी भएको बताए । लुटेराले पसलमा तोडफोड गर्नका लागि अक्सिजन ग्याससहित वल्डिङ्ग मेसिन प्रयोग गरेका थिए । पसलका सञ्चालक डिलबहादुर सुनारका अनुसार आफैले पसल चलाएको सोही घर भाडामा लिएर योजनाबद्ध रुपमा चोरी भएको बताए । उनले आफ्नै पसलको छेउमा २ जना भारतीय नागरिकले फेन्सी खोल्ने भन्दै १३ दिन अगाडी घरबेटी डा. योगेन्द्र अग्रहरीसँग सम्झौता गरेकोसमेत बताए ।
चोरी गर्ने व्यक्ति सिसिटिभि फुटेजमा स्पष्ट रुपमा देखिएपनि अहिलेसम्म प्रहरीले पक्रन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता पौडेलले घटनाका बारेमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए । साथै चोरी गर्ने व्यक्ति छिट्टै नै पक्राउ पर्ने उनको भनाइ छ । रुपन्देहीमा पछिल्लो २ महिनाभित्र तिलोत्तमाको भलवारीमा रहेको पर्वत महेश्वर सुनचाँदी पसल,चैत्र १७ गते रानीबगीया सैनामैनाको बाग्लुङ शान्तिपुरे सुनचाँदी पसल, चैत्र २९ गते बुद्धनगर सुनचाँदी पसल,बैसाख १३ गते कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको छ । चोरी कार्यमा संलग्नलाइ तत्काल पक्राउ नगरिए बुटवलका सबै सुनचाँदी पसल र रुपन्देहीमा सबै सुनचाँदी पसल अनिश्चितकालिन बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम तय गरिने पूर्व अध्यक्ष दीपक बिवश्वकर्माले बताए।

कल्पना डुम्रे
