काठमाडाैं,१५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागि पर्ने बताएका छन् ।
विहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको सपथ ग्रहण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यातायात क्षेत्रको समस्या समाधानका लागि यातायात विकास प्राधिकरण बनाउन सकिने बताएका हुन् ।
उनले भने, ‘यातायात क्षेत्रको विकासको निम्ति आवश्यक पर्ने कुरा हाम्रो यातायात मन्त्रालय नै अलग्गै भएपछि मात्रै यसैमा फोकस भएर काम गर्न सकिन्थ्यो । तर हाम्रो राज्यको अहिले स्थिति तत्काल यातायात मन्त्रालय अलग्गै बनाउन सकिने हैसियतमा पुगेको देखिदैन । त्यसकारण यहाँ स्वागत मन्तव्यको क्रममा जे राखिएको रहेछ, कमसेकम यातायात विकास प्राधिकरण बनाउन सम्भव छ ।’
उनले भने, ‘मैले यो २० वर्षे गाडीको अवधि भनेर जो राखियो । यो वैज्ञानिक छैन । गाडीको कन्डिशन हेरेर निर्धारण गरिनु पर्दछ । उमेर हेरेर होइन भन्ने कुरा मैले भन्दै आएको छु र अहिलेपनि म सरकारलाई यो विषयमा नीतिगत निर्णय गरेर मात्रै पुग्दैन कार्यान्वयनको तहमा लैजानका लागि मन्त्रालयलाई, सम्बन्धित निकायलाई निर्देशन गर्नुपर्छ। ’
उनले यातायात व्यवसायी, यातायात मजदुर र राज्य तीनवटै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । यातायात क्षेत्रमा देखिने समस्या समाधानमा आफ्नो ठाउँबाट सधैभरी भुमिका खेल्ने उनले बताए ।
