सिर्जना सिंहको उम्मेदवारी चर्चा र महिला उत्साह 

सिर्जना सिंहको उम्मेदवारी चर्चा र महिला उत्साह 


  • 11.6K
    SHARES
    • बैशाख १६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 17.8K Views

    सिर्जना सिंहको उम्मेदवारी चर्चा र महिला उत्साह 

    काठमाडौं, १६ वैशाख । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी कांग्रेस नेता सिर्जना सिंहले बिहीबार आफ्नो संकल्प पत्र सार्वजनिक गरिन । ‘सिर्जना सिंहका सात‘स’को संकल्प’ नाम दिइएको उक्त संकल्प पत्रमा सेवा, सुशासन, स्वास्थ्य, शिक्षा, समाजिक सुरक्षा, स्वच्छ सफा र दिगो पर्यावरलाई जोड दिइएको छ ।

    images

    सिंहले यी विषयबस्तु काठमाडौं महानगरपालिकाको आवश्यक्ता भएको भन्दै महत्वका साथमा उठाएकी छिन् । त्यस्तै संकल्प पत्रमा सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सबल र समुन्नत पुर्वाधार र सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरवासी आदिलाई पनि विशेष प्राथमिकतामा राखेकी छन् । संकल्प पत्र सार्वजनिक गर्ने क्रममा बोल्दै सिर्जना सिंहले महानगरमा आम नागरिकसँग जोडिएका साधारण भन्दा साधारण विषयहरुको सुधारमा बढी जोड दिने बताइन् । काठमाडौं महानगरमा महिलाहरु असुरक्षित रहेको भन्दै उनले महिला सुरक्षालाई व्यवस्थित बनाउने दाबी गरिन् । 

    उनले महिलाले ढुक्क भएर हिड्न र बोल्ने वातावरण बनाउने, सुत्केरी भत्ताको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकहरुका लागि दुःखसुख बाँड्ने ज्येष्ठ नागरिक केन्द्र बनाउने प्रतिज्ञा गरिन् । आफू मेयरमा आएपछि महानगरको अस्तव्यस्त सडक, अव्यवस्थित फोहोरलाई व्यवस्थित गर्ने योजना रहेको उनको भनाइ छ । उनले घोषणा पत्र सार्वजनिक गर्ने क्रममा महिलाका सवालहरुलाई महत्वकासाथ उठाएकी छन् ।

    महिला शशक्तिकरणमा जोड 

    राष्ट्रिय दलको मान्यता प्राप्त दलहरुबाट सिर्जना सिंह काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने पहिलो महिला हुन् । देशको राजधानी काठमाडौंको मेयरमा महिला उम्मेदवार आएको कारणले महिलाहरुमा उत्साह छाएको छ । बिहीबार संकल्प पत्र सार्वजनिक कार्यक्रममा महिलाहरुको उल्लासमय उपस्थिति थियो भने सहभागि सबै नेताहरुले महिलाको सवाललाई नछुटाई उठाएका थिए । अन्य समयमा महिलाको सवाल कम उठ्ने गरेको हाम्रो समाजमा हाल भने कांग्रेसले महिला उम्मेदवार उठाएको भन्दै महिला मतदाताहरुमा उत्साह थपिएको सहभागि महिलाहरुले बताएका छन् । राजनीतिमा नयाँ अनुहार भनिएपनि उनी नेपाल विद्यार्थी संघ हुँदै महिला संघ काठमाडौको नेतृत्व गरेर अहिलेपनि सल्लाहाकारको भूमिकामा छन् ।

    उनले नगरको समग्र विकास सँगैे महिला शशक्तिकरणको कुरालाई जोड दिएकी छन् ।महिला बालबालिका तथा ज्येष्ठ नागरिकका समस्याका बारेमा जानकारी रहेको भन्दै ती क्षत्रमा नयाँढंगले जाने उनले बताइन् ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिर्जना सिंह नेपाली राजनीतिमा लामो समय देखि सक्रिय रुपमा लागि परेको एक कुशल व्यक्तित्व भएको बताए । महिलाको उपस्थिति भएन, महिलाले मौका पाएनन् भनेर बस्ने समय अब गएको भन्दै उनले राजधानी जस्तो ठाउँको महानगरमा एक कुशल महिला उम्मेदवार आएकोले सबैले मिलेर जिताउन आग्रह गरे ।

    काठमाडौंमा हाल रेल र जहाँजको सपना बाँड्ने भन्दा पनि यहाँको जनजीवनसँग जोडिएका फोहोर, प्रशासन, सडक, स्वास्थ्य जस्ता विषयको सुधार गर्न आवश्यक भएको भन्दै थापाले सिर्जना सिंहसँग त्यही किसिमको योजना र बीचार रहेकोले उनी महानगरको नेतृत्वको लागि उपयुक्त पात्र भएको दाबी गरे । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली राजनीतिमा महिलालाई स्थापित गर्ने कार्यमा सिर्जना सिंहको महत्वपूर्ण स्थान भएको बताए । काठमाडौंमा कसैको असन्तोष नभएको भन्दै सक्षम र इमानदार महिला उम्मेदवार भएको कारणले सिंहको जित सुनिश्चित भएको उनको भनाइ छ । राम्रो पृष्ठभूमि भएको र महिला उम्मेदवार महानगरमा उठेको भन्दै यस्तो अवसर पाउँदा यसलाई खेर नफाल्न उनले आग्रह गरे ।

    यदि सिंहलाई नजिताएको खण्डमा भोली अवसर पाउँदा किन नजिताएको भन्ने प्रश्न उठ्ने उनले दाबी गरे । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेसले नगरको नेतृत्वमा उम्मेदवारी अगाडी सार्दै गर्दा सक्षम महिलालाई अघि सारेकोमा खुसी व्यक्त गरिन् । काठमाडौं जस्तो ठूलो ठाउँको नेतृत्वमा महिलालाई स्थान दिनु नगरवासी तथा सम्पूर्ण महिलाहरुको लागि खुसीको कुरा भएको उनको भनाइ छ ।

    देशमा भएका हरेक परिवर्तनमा महिलाले महत्वपूर्ण भूमिका खेलेको भन्दै कांग्रेसले महिलाको सहि मुल्यांकन गरेको दाबी गरिन् । महिलाले नेतृत्व लिएको ठाउँमा भ्रष्टाचार र गलत काम नहुने उनको भनाइ छ । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सवुज बानीयाँले महानगरले राजनीति र गृहणीको रुपमा सफलता प्राप्त गरेकी एक सक्षम उम्मेदवार पाएको बताए । उनले महानगरको नेतृत्वमा महिला आएको हेर्न सबै आतुर रहेको दाबी गरे । एउटा राम्रो घर बुझेको मान्छेले समाज, समाजको समस्या बुझ्ने र त्यसलाई समाधान गर्ने भन्दै उनले कांग्रेसको नेतृत्वले गरेकाे निर्णय स्वागत योग्य भएको बताए ।

    काठमाडौं महानगरले महिला उम्मेदवार पाएको भन्दै अन्य सबै वक्ताहरुले पनि विशेष गरी महिला उम्मेदवारको विषयलाई नछुटाइ उठाए । वक्ताहरुले मञ्चमा महिलासँग जोडिएर सिर्जना सिंहको कुरा उठाउदा उपस्थित अन्य महिला नेता कार्यकर्ताहरुले हुटीङ र तालीको वर्षा गराएका थिए । यसबाट पनि गठबन्धनले काठमाडौं महानगरको नेतृत्वमा महिला उम्मेदवार उठाएको भन्दै धेरै महिलाहरु उत्साहित भएको प्रष्ट हुन्छ । महिला उम्मेदवार पाएकोमा महिलाहरु उत्साहित देखिन्छन् । सत्तारुढ गठबन्धन पनि महिला उम्मेदवारलाई महिलाले साथ दिनुपर्ने कुरामा जोड गरेर महिलाको भोट तानेर जित सुनिश्चित गर्न लागि परेको देखिन्छ । 


    पदम भुजेल
    लेखकबाट थप