काठमाडौं, १८ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका हाँक्न आफूले अनुभवी र सक्षम मेयर तथा युवा उपमेयरसहितको उत्कृष्ट टिम जनतामाझ पठाएको दाबी गरेको छन् ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित जिफन्टको कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौं बुझेको र विकासको अनुभव तथा भिजन भएको मेयर केशव स्थापित र महानगरको संस्कृति,सभ्यता बुझेकी भूमि पुत्री सुनिता डंगोल उपमेयर भएर काठमाडौं हाँक्ने बताए । ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गरे । निर्वाचनमा उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको उनको भनाइ छ ।
आवश्यक्ता नै नभएका अन्य दलका उम्मेदवारहरुलाई छोडेर एमालेका उम्मेदवारहरुलाई जिताउन उनले आग्रह गरे । अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको बताए । उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरुको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टीले समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे ।
पार्टीको चुनावी घोषणा पत्र र स्थानीय तहको प्रतिवद्धता पत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन उनले पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले मजदुरहरुको हक, अधिकार सुनिश्चित गर्नका लागि एमाले सदैव तयार रहेको बताए । उनले भने–काठमाडौंका सडक चौडा बनाउने,माइतीघर मण्डला बनाउने, धोबिखाला कोरिडोर, बागमती कोरिडोर अघि बढाउने व्यक्तिलाई एमालेले अघि बढाएको बताए ।
