बुटवल,२० वैशाख । बुटवलबासी माझ सु-परिचित नाम हो खेलराज पाण्डेय । यहाँका टोल बस्तीको विकासमा पाण्डेको अहम भूमिका छ । उनलाई बुटवलबासीले विकासका पर्याय भनेर चिन्छन् । आगामी वैशाख ३० मा हुँने स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकामा गठबनधनको तर्फबाट प्रमुख पदका उम्मेदवार बनेका उनै खेलराज पाण्डे नेपाली कांग्रेस बुटवल नगरसभापतिसमेत हुन् । उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । यसअघिको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका पाण्डे बुटवलका हरेक विकास निर्माणका काममा जोडिएका छन् ।
२०२६ साल फागुनमा स्याङ्गजाको कालीगण्डकी २ मा जन्मिएका पाण्डे पछिल्लो तीन दशकदेखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न छन् । २०३९ सालमा स्याङ्गजाकै आदर्श मावि स्याङ्जामा नेपाल बिद्यार्थी संघको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव, २०५९ सालमा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै २०६० सालमा तरुण केन्द्रीय सदस्य भएका पाण्डे २०६७ सालमा नेपाली काँग्रेस बुटवल नगर सभापति निर्वाचित भएका थिए ।
गत मंसिरमा सम्पन्न काँग्रेसको महाधिवेशनबाट उनी पुनः नेपाली काँग्रेस बुटवल नगर सभापतिमा निर्वाचित भए । बुटवलबासीको हरेक समस्या समाधानमा उपमहानगरपालिका, प्रदेश र संघीय सरकारसँगको सहकार्यमा काम गर्दै आएका पाण्डे बुटवलको मुख्य बजार क्षेत्र, मोतीपुर, सेमलार, बेलभरिया, नयाँगाउँ, बेलबास, झोलुंगे पुल, नहरपुर लगायत क्षेत्रमा उनी घरघरका समस्या पहिचान गरी समाधानका लागि खटेका नेता उम्मेदवार बनेपछि स्थानीयहरुमा उत्साह थपिएको छ । पाण्डेले तेस्रो आँखासँग गरेको कुराकानीको सम्पादित अंश :
बुटवल उपमहानगरपालिका प्रमुखको उम्मेदवारी दिएर नागरिकको घरदैलोमा पुग्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
जनतासंग प्रत्यक्ष भेटघाट हुदै गर्दा उहाँहरुले ठीक मान्छेले टिकट पाउनुभयो । हामीले एक पटक तपाइलाइ अवसर दिन्छौं जिताउने छौं ढुक्क भएर लाग्नुस भन्नु भएको छ । नगरको निर्वाचन तित्नुस र हामीले चाहेको सफा सुन्दर, हरियालीयुक्त र समृद्ध बुटवल बनाउनुहोस भनेर आर्शिवाद शुभकामना दिइरहनु भएको छ । सबैको माया पाएको छु । तपाइलाइ एक पटक मौका दियौं भने राम्रो काम गर्नुहुनेछ भन्ने विश्वास छ भनेर सबैले जितको शुभकामना दिइरहनु भएको छ । यसअघि पटक पटक विश्वास गरेका दलहरुले निराश बनाएको, ठूला ठूला सपना देखाएर केही पनि काम नगरेकोमा एकखालको निराशा पनि देखिन्छ ।
जनताले चुनाबमा भोट हालेर जितेपनि मन जित्न नसकेको नगरबासीको अनुभूति मैले सुन्न पाएको छु । अधिकांश नागरिकलाई सोध्नुभयो भने उहाँहरु हालका जनप्रतिनिधि र अघिल्लो पटक भोट हालेका पार्टीप्रति असन्तुष्ट हुनुहुन्न । संघीय सरकारले गर्ने काम राम्रो भए जस लिने, नराम्रो भए पन्छिन काम गरिएको र पुरा नहुँने एकदमै ठूला सपना बाँडेर काम नगरेकोमा वर्तमान जनप्रतिनिधि प्रति नागरिकको असन्तुष्टि छ । त्यसले यहाँका जनताले यस पटक मेरो पक्षमा उभिएको पाएको छु । जनताको यो माया सदभाव प्रति म आभारी छु र त्यो माया र सद्भाव भोटका रुपमा व्यक्त हुन्छ भन्ने विश्वासमा छु ।
बुटवलबासी नागरिकले तपाईँलाई नै किन जिताउने ?
यो अन्तरवार्तामा म सबैकुरा भनेर त सक्दिन । तर केही मूख्य योजनाहरु भन्न चाहन्छु । म बुटवललाई देशकै समृद्ध र आर्थिक केन्द्रका रुपमा विकास गर्न चाहन्छु । यहाँका नदी किनारका बासिन्दाले सुरक्षित रुपमा आफ्नै जग्गा जमीनमा बस्न पाउने अधिकार दिलाउनु मेरो मूल कर्तव्य हो । यो नागरिकको मौलिक हक हो । यहाँको सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्नेछु । ज्योतिनगर पहिरोका कारण के कस्तो क्षति भयो भन्ने यहाँलाई जानकारी नै छ । त्यहाँ जनप्रतिनिधिका रुपमा के गरिनुपथ्र्यो र त्यसो नगर्दाको परिणाम के भयो भन्ने पनि जनताले नै देखाइदिएका छन् । मोतीपूर औद्योगिक क्षेत्रको समस्या पनि उस्तै छ ।
त्यहाँ पनि यो मेरो गढ हो भन्ने जनप्रतिनिधिलाई जनताले नै कसरी लखेटे त्यो पनि बुझ्नुभएकै छ होला । यसर्थ, यी समस्याको समाधान जनतालाई रुष्ट बनाएर, त्यहाँबाट धपाएर गर्ने हैन । उनीहरुलाई सुरक्षित अनुभूति हुनेगरी र अपनत्व महसुस हुनेगरी समाधान गरिनुपर्छ । त्यसका लागि म चरणवद्ध योजना कार्यान्वयनमा ल्याउनेछु । स्थानीयबासिन्दाको मन दुख्ने काम मैले कहिले पनि गर्नेछैन । तिनाउ दानव करिडोरका बासिन्दा अहिले पीडामा छन् । त्यहाँ कोही पनि बसोबास गर्दैन भनेर बुटवल उपमहानगरपालिकाले नै भनिरहेको अवस्था छ । तर त्यहाँ ठूलो बस्ती छ । त्यो बस्तीका बासिन्दाको मर्मअनुसार समाधान खोजिनुपर्छ ।
म त्यो समस्या समाधानमा प्रतिबद्ध छु । विगत लामो समय भयो, बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क चिडियाखोला सम्मको सडकको दुरावस्था, धुलोले बुटवलबासीको स्वास्थ्यमाा गम्भिर असर परेको छ । सडक छेउको व्यापार व्यवसाय चौपट भएको छ । कैयौं व्यवसायीहरु विस्थापित भएका छन् । चुनाबको मुखमा आएर काम देखाउन भित्री सडकहरु भत्काएर अलपत्र पारिएका छन् । जनताका समस्या के हुन् भन्नेमा ध्यान नै दिइएकोे छैन । सडकका आयोजनाहरु समयमै निमार्ण सम्पन्न गर्न ठोस र प्रभावकारी कदम चाल्ने छु । ढल निकास र खानेपानीको समस्या समाधानका लागि प्रभावकारी काम गरी समाधान गर्नेछु । बुटवलमा खानेपानीका लागि पहाडका भीरमा भन्दा बढी समस्या देख्छु म । शुद्ध पिउने पानीको समस्या समाधान गर्नेछु ।
शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा महत्वपूर्ण योजना हामीले बनाएका छौं । अर्को महत्वपूर्ण कुरा भनौं, बुटवललाई हेरेर मानिसहरुमा संघीयताप्रति नै अविश्वास जगाउने काम भएको छ । बुटवल खराब कामको मानक बनेको छ । यहाँका जनप्रतिनिधिले गरेका बेथिति देखेर जनतामा जनप्रतिनिधिप्रति चरम असन्तुष्टि देखिन्छ । उपमहानगरपालिका भ्रष्टाचारमा डुबेको छ । जनताले तिरेको करको सदुपयोग भएको छैन, जनप्रतिनिधिले आफ्नो कमाइखाने भाँडो बनाएका छन् भन्ने जनगुनासो छ । सेवाप्रवाहमा उस्तै समस्या छ । महालेखा परीक्षकको कार्यालयका रिपोर्ट हेर्नुस्, बुटवलका बेथिति कति छन् । कसरी जनताको कर लुटेर खाएका छन् भन्ने प्रष्ट हुन्छ । म यी सबै बेथितिहरु रोक्न चाहन्छु । जनताले खुनपसिना बगाएर तिरेको करको सदुपयोग गर्न चाहन्छु ।
त्यो करबाट लाभ लिने पहिलो हकदार जनता नै हुन भन्ने अनुभुति गराउँछु । भ्यूटावर बनाउनेजस्ता अनुत्पादक काममा हाम्रो ध्यान जानेछैन । आवश्यकताका आधारमा प्राथमिकता तय गरेर कार्यक्रमहरु ल्याइनेछन् ।यस्ता अरु धेरै कार्यक्रम र योजनाहरु हामीले लिएका छौं । हामी पाँचदलीय गठबन्धनबाट चुनाबी मैदानमा छौं । गठबन्धनका एजेण्डाहरु पनि मैले साझा रुपमा अघि बढाउनेछु । हाम्रो पार्टीको बुटवलको घोषणा पत्र र राष्ट्रिय एजेण्डाहरु र कार्यक्रमहरु छन् । तीनलाई पनि म समावेश गरेर सबै दलहरुलाई अपनत्व हुनेगरी सहभागी गराएर अघि बढ्नेछु । यो मेरो प्रतिवद्धता हो ।
गठबन्धनका दलहरुबीचको तालमेल कस्तो छ ?
यो गठबन्धन राष्ट्र जोगाउनका लागि, संविधानको रक्षाका लागि, मुलुकलाई अस्थीरता र अराजनीतितर्फ धकेलिनबाट जोगाउनका लागि निर्माण भएको हो । जतिबेला नेकपा विघटन र एमाले विभाजन भयो, त्यसले उत्पन्न गराएको परिस्थितिले मुलुक नै संकटग्रस्त अवस्थामा पुग्न थालेको थियो । नेपाली कांग्रेसले त्यसको अगुवाई नगरेको भए र पाँच दल एकैठाउँमा नआएको भए हाम्रो संविधान अहिलेको अवस्थामा रहदैनथ्यो । जनताको बलिदानीले प्राप्त गरेको यो उपलब्धि गुम्ने खतरा थियो । जनतामाझ यसबारे भ्रम फिजाउँन खोजिएको छ । एमालेले जनतालाई आफ्ना कमजोरी लुकाएर गठबन्धनको खेदो खनेको छ ।
अहिले एमालेसँग अरु कुनै एजेण्डा छैनन् । देशलाई अस्थिर बनाउने र अराजनीतिक बाटोमा लैजाने उसको योजना असफल भएको छ । यो कुरा उसले लुकाउनका लागि गठबन्धनविरोधी नारा लिएर जनतामाझ गएको छ । एमालेकै कारण मुलुकको अवस्था संकटतर्फ जान थालेपछि मुलुकलाई बचाउन कांग्रेसले काँध थापेर अरु चार दललाई सहभागी गराएको छ । यो परिस्थितिमा बनेको गठबन्धन संविधान,लोकतन्त्र र जनअधिकारको रक्षा, प्रेस स्वतन्त्रता, स्वाभिमानसहितको राष्ट्रियताको रक्षाका लागि निरन्तर लागिरहेको छ ।
जुन शक्तिले मुलुकलाई नै ध्वस्त पार्ने, संविधानलाई नै ध्वस्त पार्ने षडयन्त्र ग¥यो त्यसलाई पराजित गर्नुपर्छ र त्यस्तो शक्तिलाई मुलुकमा उदय हुन दिनुहुँदैन भन्ने उदेश्यका साथ हामी चुनाबमा पनि सँगसँगै अघि बढेका छौं । यो गठबन्धनका दलहरुबाट केही साथीहरुले उम्मेदवारी दिएपनि मलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गर्नुभएको छ । यसले हामीहरुलाई, यो गठबन्धनलाई अरु धेरै बलियो बनाएको छ । हामीबीचमा आपसी सम्बन्ध र सद्भाव बढेको छ । कुनै पनि समस्या छैन । सबै दलका साथीहरुले हामीले निर्वाचन जित्छौं, जित्नुपर्छ र हाम्रो जित सुनिश्चित छ भन्ने ढुक्क छौं । हामी फराकिलो अन्तरले बुटवलमा चुनाब जित्छौं । बुटवलबासीलाई साँच्चिकै जनप्रतिनिधि आएको अनुभूति दिलाउनेछौं ।
चुनाब सहजै जित्छौं भन्नुभयो, त्यसका आधारहरु के हुन् ?
म २०७४ को चुनाब लडेँ । मेरो २३०० जति भोट कम भयो । त्यो चुनाबदेखि यो चुनाबसम्म मैले जनताका समस्या समाधानका लागि निरन्तर लडिरहेको छु । जतिले मलाई भोट दिनुभएन उहाँहरु वास्तवमै पछुताउनुभएको मैले पाएँ । हामीले गलत व्यक्तिलाई जिताएछौं भन्ने अनुभव बुटवलबासीले गरेको मैले पाएको छु । अघिल्लो चुनाबमा भ्रममा परिएछ भन्नेहरु अहिले मलाई नै जिताउन खटिनुभएको छ । मैले नजितेरै पनि गरेँ जितेकाहरुको भन्दा बढी काम गरेको छु । जितेको भए त्यसको कैयौं गुणा धेरै गर्न सक्थेँ भन्ने कुरा जनताले बुझ्नुभएको छ ।
अर्को कुरा, बुटवल नयाँ शहर होइन । यहाँका बासिन्दाको आफ्नै खालको अपनत्व छ । पूराना बासिन्दाको लगाव फरक खालको छ । नयाँ बासिन्दाको फरक खालको लगाव छ । ती दुवै खालका बासिन्दाको मन जितेर काम गर्न सक्छु । बुटवलमा हाम्रो पार्टी अहिले एकजुट छ । संगठन बलियो छ । प्रत्येक टोलका समितिहरु सक्रिय छन् । अहिले थपिएका नयाँ २३ हजार मतदातामा धेरै युवा छन् । युवा मतदाताको मत मलाई आउँछ । म युवाको भावना बुझ्छु । युवाका आवश्यकता बुझ्छु ।
हामी युवापिढीलाई प्राथमिकताका साथ योजना र कार्यक्रमहरु ल्याउँछौं । युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्न म रोजगारका कार्यक्रमहरु ल्याउँछु । यसकारण पनि युवाको पहिलो रोजाईमा म पर्छु । नामावली सारेर आउनेहरु गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, पर्वत, वाग्लुङ, प्युठानलगायत अरु केही जिल्लाबाट आएका छन् । यी जिल्लाका साथीहरुसँग मेरो राम्रो नेटवर्क छ । अर्को कुरा, म बुटवल उपमहानगरपालिकामा कुनै पेशा व्यवसाय गरेर थाकेर, रिटायर्ड हुने बेलामा थकाई मार्न जाँदैछैन । म एउटा जोश, जाँगर लिएर बुटवललाई परिवर्तन गर्छु भनेर लागेको मान्छे हुँ । यहाँका बासिन्दाको निराशा हटाएर उत्साह भर्छु, एउटा नयाँ आशा जगाउँछु भन्ने दृढ अठोटका साथ उम्मेदवार बनेको हुँ ।
बुटवल उपमहानगरपालिकामा बितेका ५ वर्षमा भएका कति कार्यक्रममा अरु दलहरु सहभागी भए ? अरु दलका कुरा कति सुन्ने ? वातावरण थियो कस्तो व्यवहार थियो अरु दलहरुलाई रु त्यसमा पूर्णरुपमा परिवर्तन ल्याउनेछु । सबै दल, सबै समुदाय, सबै उमेर, सबै भेग, सबैखालका मान्छेले बुटवल उपमहानगरलाई आफ्नो ठान्ने वातावरण बनाउनेछु । यसअघिको निर्वाचनमा भोट दिने सबै भोट मलाई आउनेछन् । यसअघि भोट नदिएका ६० प्रतिशत बुटवलबासीले मलाई भोट दिनेछन् ।
एमालेले जनमुक्ति पार्टीसँग तालमेल गरेको भनेको छ, तर त्यो नाममात्रैको तालमेल हो । त्यहाँका करीब ७५ प्रतिशत मत हामीलाई आउँछन् । अर्को बलियो आधार, हाम्रो गठबन्धन हो । गठबन्धन दलहरुबीचमा अहिले एकदमै सौहार्दपूर्ण वातावरण बनेको छ । हामीहरु एकजुट भएर एकसाथ अघि बढेका छौं । यसआधारमा हाम्रो गठबन्धनको जित सुनिश्चित छ । सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीहरुको मुद्दा धेरैपटक उठ्यो, तर समाधान भएन् । यसमा तपाइका एजेण्डा के छन् ? सुकुम्बासी समस्याहरुको विषयमा अल्पकालीन र दीर्घकालीन उपायहरु छन् ।
अल्पकालीन उपायमा हामी उपमहानगरपालिकामा दर्ता प्रक्रिया सुरु गरेर उपमहानगरपालिका भित्र यसलाई एउटा मापदण्डमा ल्याउन सक्छौ र यसको नामसारीको प्रक्रियाहरु वडाहरु मार्फत लैजान सक्छौ यति मात्रै गर्न सक्यौ भने धेरै समस्याहरु यसबाट समाधान हुन्छ । यसअघि देखिएका विकृतिहरु हटेर जान्छन् र दीर्घकालीन समस्या भनेको लालपुर्जा प्रदान गर्ने हो त्यो नै हाम्रो मुख्य उदेश्य हो । भूमि सम्बन्धी कार्यालयहरु गठन भएका छन् त्यस मार्फत कामहरुको टुगंो लगाउँछौ । हामी लालपूर्जाका नाममा ललिपप देखाउँदैनौं । एमालेले जस्तो भोटका लागि समाधान गर्छु भन्दैनौं । लालपूर्जा भनेर निस्सा वितरण गर्दैनौं । यसको समाधान गर्नसक्ने आधार तयार गरेर भनिरहेको छु ।
एमालेका उम्मेदवारहरुले बुटवललाइ आफ्नो गढ भनेर दाबि गर्दै आएको छ नि ?
कसैले गढ भन्दैमा त्यो सत्य नै हुन्छ भन्ने छैन । मैले अघिल्लो चुनाबमा २३०० जति भोट कम ल्याएकोे हुँ । अहिले ९० हजारभन्दा बढी मतदाता छन् । कसरी गढ भयो रु यो नागरिकमा भ्रम फिजाउँनका लागि फैलाइएको हल्ला मात्रै हो । हामीले बुटवलमा त्यसअघि सुर्यप्रसाद प्रधानदाईले चुनाब जित्नुभएकै थियो । हामीले हाम्रो गढ भनेर भ्रम त फिजाएनौं । यो बुटवलबासीको उपमहानगर हो । यसलाई बुटवलबासीको साझा सम्पत्तिका रुपमै रहन दिनुपर्छ । पार्टीको सम्पत्ति जस्तो गरिनुहुन्न ।
अर्को कुरा, बुटवल नगरका हरेक नागरिक सचेत हुनुहुन्छ । देशमा भएका हरेक ठूला आन्दोलनको नेतृत्व गर्ने नेपाली काँग्रेसले गरेका गतिविधिलाइ एमालेसँग दाज्नै मिल्दैन । बुटवल र बुटवलबासीको लागि यसअघि नेतृत्वमा पुगेको एमाले र तीनका जनप्रतिनिधिले केही गरेनन् । त्यो कुरा जनताले स्पष्ट बुझ्नु भएको छ । हिजो हामीले निकै दुःख गरेर प्रदेशको अस्थायी राजधानी बुटवल ल्याएका थियौ । एमालेले बुटवलको राजधानी खोसेर दाङ्ग पु¥यायो । त्यसमा एमालेका स्थानीय देखि प्रदेश र केन्द्रमा नेत्तृत्व गर्नेहरुकै कारण राजधानी यहाँबाट सारेर दाङ पु¥याइएको हो ।
बुटवलबाट कुनै पनि हालतमा राजधानी सार्न दिन्नौं भनेर भन्ने एमालेका नगरदेखि केन्द्रीयस्तरसम्मका नेताहरु आज कहाँ गए ? बुटवलमा पाँच वर्षको अवधिमा कुनै एउटा बाटोघाटो बनेर सकिएको छैन । न खानेपानी समस्या समाधान भएको छ न फोहोर व्यवस्थापन गर्न सकेका छन् । शिक्षा,स्वास्थ्य, खानेपानी, फोहोरमैला व्यवस्थापन जस्ता आधारभुत कामहरुमा समेत सिन्को भाँच्न नसक्ने एमालेका नेताहरुले नगरको विकास गर्दैनन् भन्ने कुरा यहाँका जनताले बुझनु भएको छ ।
जनताले भोट दिएर पठाएको जनप्रतिनिधि साझा हुन सकेनन । बुटवल उपमहानगरपालिकालाई एउटा दल विशेषको पार्टी कार्यालय बनाउने कुचेष्टा गरियो । विभिन्न समितिका नाममा आफ्ना कार्यकर्ताको भिड जम्मा गर्ने र भत्ताका नाममा जनताले तिरेको कर नजिकका मान्छे पोस्ने काममा खर्च भएको छ । सरकारी ढुकुटीमा चरम बेथिति, भ्रष्टाचार छ तर अव त्यसलाइ रोक्नु पर्छ । भ्रष्टाचारलाइ शुन्यमा झारेर नगरको विकास शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, जस्ता आधारभुत विकास गर्दै नगरलाइ हराभरा, सुन्दर सफा, समृद्ध नगर बनाउन यसपटक मलाइ रुख चिन्हमा भोट दिएर जिताउनुस् र तपाईँहरुको सेवा गर्ने मौका दिनुस् । मैले यो नगरपालिकालाइ सबैको साझा नगरपालिका हो भन्ने अनुभुति गराउने छु ।
कल्पना डुम्रे
