एजेन्सी, २२ वैशाख । विश्व स्वास्थ्य संगठनले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिड विरुद्धको खोपले नै काम गर्ने जनाएको छ । पछिल्लाे समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरु आइरहेका छन् ।
ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। उक्त संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको जनाइएको छ । विश्वमा कोभिडका संक्रमितहरुका संख्या घट्दै गएको पाइएको छ । साथै गएको सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिडका कारणले हुने गरेको मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ ।
यो मृत्युदरमा भएको कमी पनि कोभिडका विरुद्धको खोपकै कारण भएको संगठनको भनाइ छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोभिडको ओमिक्रोन भेरियन्ट पत्ता लगाएका थिए । यस भेरियन्टको संक्रमण दर अरुको तुलनामा निकै नै बढी थियो । तर पनि सो भेरियन्टलाई पनि हाल प्रचलनमा रहेकै खोपले प्रभावकारी रुपमा काम गरिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ
