काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले रेनु दाहालको जित सुनिश्चित भएको बताएका छन् ।
बिहीबार पाँच दलीय सत्ता गठबन्धनले चितवनको भरतपुरमा संयुक्तरुपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तौ बताएका हुन् । ‘रेनु दाहालको जित सुनिश्चित छ,’ भण्डारीले भने, ‘अन्त मैले हिसाब गरेको छैन तर यहाँ जित निश्चित छ ।’
नेपाली कांग्रेस सहभागी नभएको कुनै पनि गठबन्धन सफल नभएको भन्दै उनले अहिलेको गठबन्धन सफल हुने दाबी गरे। उनले भने, ‘जो-जोले अलिहेसम्म नेपाली कांग्रेससँग गठबन्धन गर्नु भएको छ, त्यो सफल भएका छन् । नेपाली कांग्रेसबिनाका गठबन्धन टिकेका छैनन् ।’
भण्डारीले चितवनका कांग्रेसका नेता, कार्यकर्ता कुनै दुविधामा पर्न आवश्यक नभएको बताए । ‘कुनै दुविधामा पर्न आवश्यक छैन,’ उनले भने, ‘म पार्टीको निर्देशनमा चारदिन देखि यहीं बसेर कुराहरु सुनिरहेको छु । सबैको गुनासो सम्बोधन हुन्छ ।’
