काठमाडौं, २२ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनी जनताहरुले साथ दिए पाँच दलिय गठबन्धनलाई दशकौं अगाडी लग्ने बताएका छन् ।
पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको चुनाबी आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘चितवनका कांग्रेसका साथीहरुले प्रचण्डले फेरि धोका दिने हो कि भन्ने आशयले प्रश्न राख्नु भयो’, प्रचण्डले भने ‘अघिल्लो पटक पनि चितवनका जनताले नमानेर गठबन्धमा समस्या परेको थियो । तर चितवनका तपाई जनताहरुले यो पटक साथ दिनुहुन्छ भने म यो गठबन्धन दश/पन्ध्र वर्ष अगाडी लग्न तयार छु ।’
उनले राष्ट्रको आवश्यक्ता बुझेर गठबन्धनलाई साथ सहयोग गरेको खण्डमा दशकौं सम्म यो गठबन्धन अगाडी लाने संकल्प गरे । उनले केपी ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरेर आएको कारण आफू माथि शंका नगर्न आग्रह गरे । उनले चितवनमा गठबन्धनलाई अत्याधिक मतले विजयी गराउन आग्रह गरे ।
