काठमाडौं, २५ वैशाख । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकामा नेपाली कांग्रेसका नेताहरुले बागी उम्मेदवारी फिर्ता लिएका छन् ।
आइतबार कांग्रेसका पुराना तथा क्रियाशील नेता महेश कोर्मोचासहितका नेताले बागी उम्मेदवारी फिर्ता लिएका हुन् । स्थानीय तहको निर्वाचनमा कोर्मोचाले गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । यस्तै गाउँपालिका उपाध्यक्षकी उम्मेदवार सरिता तामाङ, वडा नं १ का वडाध्यक्ष उम्मेदवार अमृत खड्का र वडा नं ५ का उम्मेदवार भीमराज सुनुवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
उनीहरूले आज एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । विज्ञप्तिमा केन्द्रीय नेताहरुको निर्देशनमा उम्मेदवारी फिर्ता लिएको उनीहरुले बताएका छन् । उनीहरुले नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र बस्नेत र सुशिला तामाङलाई सघाउने प्रतिबद्धता समेत जनाएका छन् । खिजीदेम्बा नेपाली कांग्रेसकाे वर्चस्व रहेकाे गाउँपालिका हाे ।

