काठमाडौं, २५ वैशाख । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले एमसीसीसँग भएको सम्झौतामा गठबन्धनले राष्ट्रघात देखाएको आरोप लगाएका छन् ।
चितवनमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अमेरिकाको मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौतामा गठबन्धनले राष्ट्रघात देखाएको आरोप लगाएका हुन् । ‘एमसीसी प्रकरणमा देखियो यो देशलाई कसरी विदेशको हातमा बन्धक बनाइरहन चाहान्छ, थापाले भने । उनले नेकपा माओवादी केन्द्र विघटन, विसर्जन र पतनमा गएको आरोप लगाएका छन् । माओवादी केन्द्र सिद्धान्तबाट च्युत भएको आरोप पनि लगाए।
‘अस्ति माओवादी केन्द्रकी उम्मेदवारले गठबन्धनको टेलर मात्रै फिल्म देखाउन बाँकी भनेर भनिन् । नेकपा माओवादी केन्द्रले प्रहसन देखाइरहेको छ । माओवादीले दुखान्त नाटक देखाउने छ’ थापाले भने, ‘माओवादी पतनतर्फ गएको छ । विचार र सिद्धान्तबाट च्युत भएको छ । उनले अहिले एकतर्फ ठूला पूँजीपतिहरुको गठबन्धन र अर्कोतर्फ श्रमजीवीहरुको दुई धारबीच संघर्ष रहेको बताए । यो स्थानीय चुनावको माध्यमबाट राष्ट्रिय स्वभिमान रक्षा गर्ने र बाह्य शक्तिमा देश सुम्पने पक्षबीच प्रतिस्पर्धा भएको पनि बताए ।
