काठमाडौं, २५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौँडाका जनप्रतिनिधिले डोजर र जग्गा प्लटीङको काम मात्र गरेको टिप्पणी गरेका छन् ।
आइतबार हेटौँडामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै तामाङले यस्तो बताएका हुन् । हेटौँडा उपमहानगरपालिकामा यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले डोजर र जग्गा पल्टिङको मात्र विकास गरेको उनले भने। उनले आफूले हेटौँडामा स्वास्थ्यको समस्या धेरै समय अघिबाट देखेको तर यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले समस्यको समाधानको लागि केही पहल नगरेको आरोप लगाए ।
उनले आफूलाई हेटौँडाको अस्पतालमा एमआरआई र सिटिस्क्यान समेत नहुने जानकारी आएको बताउँदै बागमती प्रदेशको राजधानी भएर पनि यहाँको जनप्रतिनिधिहरूले अस्पतालको विकास गर्न नसकेको आरोप लगाए।
उनले हेटौँडाको मेयरको लागि उम्मेदवार दीपकबहादुर सिंह उठाएको भन्दै सिंहको सक्षम टिमलाई जिताउन हेटौँडावासीलाई आग्रह गरे । हेटौँडा उपमहानगरपालिका मेयरमा उम्मेदवार बनेका दिपक सिंहले आफूलाई हेटौँडाको मेयरमा जिताउन अपिल गर्दै आफू मेयरमा निर्वाचित भए भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
