काठमाडौं, १४ मंसिर । पछिल्लो समय नेपाली राजनीतिमा पुस्तान्तरणको विषयमा राम्रै बहश हुँदै आएको छ । राजनीतिक दलका अधिवेशन नजिकिंदै गर्दा यो विषय मज्जाले उठ्ने गर्छ । तर, दलका अधिवेशन सकिएसँगै ओझेलमा पर्ने यो मुद्दालाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने अनुशरण गर्ने लगभग पक्का भएको छ ।
बुधबारबाट काठमाडौंमा सुरु हुने राष्ट्रिय एकता महाधिवेशनमा दोस्रो पुस्ता मानिने नेताहरुले पहिलो पुस्तालाई नेतृत्वमा सघाउने भएपछि राप्रपाको महाधिवेशनलाई महत्वका साथ हेरिएको छ । वर्तमान अध्यक्षत्रयमध्ये एक जना अध्यक्षमा आउने पक्का हुँदैगर्दा महाधिवेशनको मुखैमा पुराना नेताहरुले नयाँलाई अघिसारेपछि राप्रपा अधिवेशन रोचक बनेको छ ।
गत विहिबार संघीय संसदमा पार्टीको एकल प्रतिनिधित्व गरेका नेता राजेन्द्र लिङ्देनले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका मेयर धवल शमशेर राणाको समर्थनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै नयाँ र पुराना पुस्ताबीच प्रस्तिस्पर्धा हुने छाँटकाँट देखिएको थियो ।
पार्टीमा बलियो उपस्थिति राख्ने नेता राणासँगै नेपाली चलचित्रकी नायिका रेखा थापालगायतको टोली उहाँको साथमा भएपछि लिङ्देन थप हौसिनुभएको छ । त्यसो त, लिङ्देनलाई अध्यक्ष कमल थापासँग नजिक मानिएका नेताहरु पनि उहाँको साथमा रहेका छन् । मंगलबार अध्यक्ष मण्डलका डा. प्रकाशचन्द्र लोहनीको साथ पाएपछि अबको प्रतिस्पर्धा वर्तमान अध्यक्ष थापासँग हुने पक्का भएको छ । सोमबारमात्रै अध्यक्ष थापाले अर्का अध्यक्ष पशुपति शमशेर जवराको समर्थनमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।
यसले अब राप्रपामा दोस्रो पुस्ताका नेताहरुबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । अहिलेसम्मको अवस्था हेर्दा राप्रपामा अबको नेतृत्वमा पुस्तान्तरण हुने पक्का जस्तै भएको छ । पटक–पटक फुट्दै–जुट्दै गरेको राप्रपाको बुधबारबाट हुने एकता महाधिवेशनबाट पार्टीमा नेतृत्व परिवर्तनको वहश चल्दै गर्दा पनि पुरानै अनुहार दोहोरिने आशंका पनि कतिपयको छ । अहिले पार्टीको नेतृत्व गरिरहेका अध्यक्ष थापाले उम्मेदवारी घोषणा गर्नुले पनि महाधिवेशन थप रोचक बन्ने देखिएको छ ।
नेतृत्व परिवर्तनको अभियान चलाइरहेका नेता लिङ्देनले पार्टीको नेतृत्वमा आउने कतिको आकलन छ । तर, यति सहजै राप्रपाभित्र नेतृत्व हस्तातरण हुने सम्भावना न्यून देखिन्छ । राप्रपाले पहिलो पटक ७५ प्रतिशत पदाधिकारी निर्वाचित हुनेगरी विधान संशोधनको प्रस्ताव अधि बढाएको छ । यस अघि अध्यक्षले मनोनित गर्ने गरेकोमा केन्द्रीय महाधिवेशनले निर्वाचनबाट पदाधिकारी चुनिने व्यवस्था गर्न लागेको हो । यसले पनि राप्रपाभित्र निर्वाचित भएर प्रायः नयाँ पुस्ता आउने सम्भावना ज्युँदै राख्छ ।
पूर्वपञ्चहरुको बाहुल्य रहेको पार्टीमा नेतृत्व परिवर्तनको बहश सुरु गर्नु नेता लिङ्देनका लागि ठूलै चुनौती छ । राप्रपामा थापाबाहेक नेता लिङ्देन नेतृत्वमा आए राप्रपाभित्र ३१ वर्षदेखि एउटै नेता पटक–पटक आउने परम्पराको अन्त्य हुने देखिन्छ । राप्रपा नेतृत्व व्यवस्थापनकै कारण पटक–पटक विभाजित हुनेगरेको छ । २०७६ फागुनमा एकता गर्दा पनि नेतृत्व विवादका कारण तीन जना अध्यक्षको व्यवस्था राखेर महाधिवेशनसम्म संयुक्तरुपमा पार्टी सञ्चालन गर्ने सहमति बनेको थियो ।
राप्रपा नेता श्याम तिमल्सिना पुरानालाई उचित स्थान दिंदै चुनौतिको सामना गर्नसक्ने नेतृत्व चयन गर्नुपर्ने सुझाव दिनुहुन्छ । अहिले पुस्तान्तरणको विषय पार्टीको हितका लागि भए पनि जिम्मेवार नेतृत्व आवश्यक रहेको उहाँको तर्क छ । अबको नेतृत्वलाई पार्टीको अस्तित्व जोगाउने ठूलो चुनौति छ । अघिल्लो निर्वाचनबाट राष्ट्रिय पार्टी बन्न नसकेको राप्रपालाई बलिया राजनीतिक दलहरुका अघि एउटा शक्ति बनाउनु पर्ने दायित्व छ ।
राजतन्त्र र हिन्दू राष्ट्रको एजेण्डा उठाइरहेको पार्टीले गणतान्त्रिक मुलुकमा आफ्नो अस्तित्व कायम राख्न एकता महाधिवेशनबाट चुनिने नेतृत्वमा भर पर्ने राजनीतिक जानकारको भनाइ छ ।
भोलि एकता काठमाडौंको भृकुटी मण्डपमा महाधिवेशन उद्घाटन हुँदैछ । पर्सि निर्वाचनको तालिका छ । तर, एकथरी नेता भने सहमतिको प्रयासमा रहेका छन् । अध्यक्षका प्रत्यासी थापा र लिङ्देन दुवैलाई पार्टीमा आफ्नो साख जोगाउनु पर्ने चुनौती रहेको छ ।
चुनौति राप्रपाका यी प्रत्यसीमा मात्रै सिमित छैन । पुस्तान्तरणको बहस प्रायः सबै दलमा चल्ने गरेको छ । नेकपा (एमाले) को अध्यक्षमा अहिले केपी शर्मा ओली पुनः निर्वाचित हुनुभयो । यसको अर्थ त्यहाँ पुस्तान्तरणले ठाउँ पाएन भन्ने लाग्न सक्छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई ल्याएर उहाँले आगामी नेतृत्व उहाँहरुको काँधमा सुम्पन खोज्नुभएको हो भन्न सकिन्छ ।
यतिमात्र होइन डा. भीम रावलले हार्छुभन्ने थाहा हुँदाहुँदै पनि अध्यक्ष पदमा चुनाव लड्नुको दूरगामी अर्थ पाइन्छ । उहाँले आउदो महाधिवेशनमा अध्यक्षको बलियो र एकमात्र सम्भावित उम्मेदवार आफू बन्ने विश्लेषण गरेर नै यो चुनाव लड्नुभएको होला भन्दा फरक नपर्ला ।
नेपाली कांग्रेसको यतिबेलाको दृश्य चाहिँ पुस्तान्तरणमा जाने देखिंदैन । केही युवाले नेतृत्वलाई चुनौति दिने मनसाय व्यक्त गरिरहनुभएको छ । उहाँहरुको यो मनसायमा त्यति धेरै ‘दम’ देखापर्दैन । सभापति शेरबहादुर देउवाको ‘दोहोर्याउने’, वरिष्ठ नेता रामचन्द्र पौडेलको सभापति बन्ने चाहना बलवान छ ।
विमलेन्द्र निधी, डा. शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइरालाको पनि सभापतिमा उम्मेदवारी दिने प्रयत्नसहितको सक्रियता देउवा र पौडेलका चाहनासामु फिका देखिन्छ । कृष्णप्रसाद सिटौला अहिलेसम्म देखिनेगरी सक्रिय पाइनुहुन्न र पनि उहाँ सभापति बन्ने चाहनामा हुनुहुन्न भन्न सकिंदैन ।
अर्थात, नेपाली कांग्रेस पुस्तान्तरणमा जाने कमसे कम ‘टाढाको विषय’ छ । महामन्त्रीलगायतका पदाधिकारीमा भने केही नयाँ अनुहार आउसक्छन् । महाधिवेशन प्रतिनिधिमा धेरैजसो युवा निर्वाचित भएकाले यस्तो सम्भावनालाई नकार्न सकिंदैन ।
