धनी–गरिब बीचको खाडल: घरायसी महिला कामदारमाथि चरम विभेद, सोफामा समेत बस्न दिइदैन

धनी–गरिब बीचको खाडल: घरायसी महिला कामदारमाथि चरम विभेद, सोफामा समेत बस्न दिइदैन


  • 11.0K
    SHARES
    • बैशाख २८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 16.9K Views

    धनी–गरिब बीचको खाडल: घरायसी महिला कामदारमाथि चरम विभेद, सोफामा समेत बस्न दिइदैन

    काठमाडौं, २८ वैशाख । काठमाडौंका धनी वर्गका घरमा प्राय घरायसी काम गर्ने मानिसहरु अनिवार्य जस्तै हुन्छन् । धनी वर्गहरु घर सफा गर्ने, कपडा धुने, खाना पकाउने जस्ता देखि लिएर बालबच्चा हेर्ने र हुर्काउने सम्मको सम्पूर्ण घरायसी काम अरुबाट नै गराउँछन् । तर घरका सारा काम गर्दिने तीनै महिलाहरुलाई भने उनीहरुले चरम विभेद गर्ने गर्दछन् ।

    images

    विभिन्न भूभाग र गाउँदेखि आफ्नो बालबच्चा पढाउन सहरमा कोठाभाडामा बसेका अधिकांश महिलाहरु धनीहरुको घरमा खाना बनाउने, लुगाधुने, भाँडा माझ्ने, सरसफाई गर्ने जस्ता काम गर्दछन् । धेरै महिलाहरुको आर्थिक उपार्जनको बाटो नै यहि रहेको छ । तर त्यसरी अरुको घरमा काम गर्ने महिलाहरुले चरम विभेद भोग्ने गर्छन् । ती धनी वर्गका मानिसहरुले आफ्नो घरमा काम गर्न राखेका जो कोहिलाई पनि मान्छेको रुपमा मान्दैनन् । 

    विगत दुई दशकदेखि काठमाडौं आएर बसेकी धनगढीकी उर्मिला मगर काठमाडौंमा घरायसी काम गर्छिन् । आफ्नो श्रीमानले अर्की श्रीमती ल्याएर उनलाई बेवास्ता गरेदेखि नै उनी अरुको घरमा गएर चुलो चौकोसो को काम गर्ने गर्छिन् । उनले आफ्ना हुर्कदै गरेका तीन छोरालाई पढाउन अरुको घरमा घरायसी काम गरिन् । यो लामो बसाइमा आफूले धेरैको घरमा काम गरेको बताउने उनी अरुकोमा काम गर्दाका तिताअनुभवहरु निकै रहेको बताउँछिन् । स–साना गल्तिहरुमा पनि चरम बेइजत्ती खेप्नुपरेको उनको गुनासो छ । आफूले काम गर्दै जाँदा केही गल्तीहुँदा, काम ढीला हुँदा अरुको नराम्रो बचन सहनुर्पे र त्यो समय निकै कठिन हुने उनी गुनासो गर्छिन् । 

    गिलास फुट्यो, खाना भने जस्तो भएन, कुनै सयम काम ढिला भयो भने आफूहरुले असह्य गाली खाएको अनुभव भएको पनि उनी बताउँछिन् । केहि घरमा आफूलाई राम्रो व्यवहर गर्ने भएतापनि कतिपय ठाउँमा भने अमानवीय व्यवहार गर्ने गरेको दुखेसो उनी पोख्छिन् । ‘अरुको घरमा काम गर्दा गर्दै अब मेरो यतिका उमेर बित्याे । त्यस्ता गाली त कति खाइयो खाइयो अब के गर्नु काम नगरि नहुने’, उनी भन्छिन् ‘घरमा मात्र कहाँ काम गरेको हो र मैले बालुवा, इँटा बोक्ने काम कति गरे गरे । बिहानै घरको काम भ्याएर अनी ज्यामी काम गर्न जान्थे ।’ आफ्नो परिवार पाल्न र आफूलाई पाल्न अपमान सहेर पनि काम गर्नै पर्ने अवस्था रहेको उनी गुनासो गर्छिन् ।

    त्यस्तै सिन्धुपाल्चोक स्थायी घर भएर हाल काठमाडौं महानगरपालिका–३ टुसालमा बस्ने ३५ वर्षे नुनुमाया तामाङ एक दिनमा दुई वटा घरको घरायसी काम गर्न भ्याउछिन् । काम गर्ने घरमुलीको नाम थाहा नभएको बताउने उनी बिहान् माडे र दिउँसो नेवारको घरमा सरसफाइको काम गर्ने गरेको बताउँछीन् । अचम्मको कुरा के छ भने उनले आफैले दिनहुँ सफा गर्ने गरेको सोफामा उनी बस्न पाउँदिनन् । यदि झुक्कीएर बसिन् भने पनि गाली मालिकहरूले गर्ने गरेकाे उनी बताउँछिन् । सुरुसुरुमा काम गर्न जाँदा आफूलाई थाहा नभएर सोफामा बस्ने गरेको र धेरै गाली खाएको उनी सुनाउछिन् ।

    ‘मैले जुन सोफा र खाट सफा गर्छु, मिलाउँछु त्यही सोफा र खाटमा बस्यो भने गाली गर्छन्’, उनी भन्छिन् ‘काठमाडौं आएपछि धेरै ठाउँमा काम गरियो केही ठाउँमा वास्ता गर्दैनन् तर कतिपय ठाउँमा भने उनीहरु बस्ने सोफा र खाटमा बस्न दिदैनन् ।’ आफूले काम गरेको ठाउँमा केहि चाडपर्वमा लगाएको र पुरानो कपडा दिने, कहिलेकाही खानेकुराहरु बिग्रन लागेपछि मात्र दिने गर्छन् यसो गर्दा आफूलाई नराम्रो लाग्ने भन्दै  उनी गुनासो पोख्छिन् । उनले घरको काम गरेर नै एक  छोरा र एक छोरी काठमाडौंमा पढाउँदै आएकी छिन् ।

    यसरी काम गर्दै जाँदा धेरै ठाउँमा काम गरेको तर सम्मानजन व्यवहार भने कसैले नगरेको उनीहरु गुनासो गर्छन् । यदि अरु नै काम पाएको खण्डमा यसरी दिनहुँ अपमान गरिने ठाउँमा काम नगर्ने उनीहरु बताउँछन् । घरको काम भनेको कहिल्यै जस नपाउने ठाउँभएकोले आफूहरु गरिबीको कारणलेनै यसरी यस्तो ठाउँमा काम गर्न बाध्य भएको उनीहरुको भनाइ छ । चुनाब आउने, परिवर्तनको कुरा हुने जे जे भएपनि आफूहरुको जिवमा वषौं देखि केहि परिवर्तन आउन नसकेको र चुनाबको र भोटको बारेमा वास्ता नलाग्ने उनीहरु बताउछन् । आफ्नो घरलाई सफा र सुन्दर राख्न ठूलो भूमिका खेल्नेहरुलाई सम्मान गर्नुपर्ने ठाउमा अपमान गरिनु हाम्रो लागी दुःखद भएको र आफूहरुलाई महिलाले नै बढी विभेद गर्ने गरेको उनीहरुको गुनासो छ । घरमा पनि आफूले नै र बाहिर पनि आफूले नै अपमान सहेर घरको काम गनुृपर्ने अवस्थाबाट हैरान भएको उनीहरु बताउँछन् । 

     

  • सम्बन्धित विषय:

  • # श्रमिक महिला

  • पदम भुजेल
    लेखकबाट थप