तिलोत्तमा, ३ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनाको क्रममा पार्टीका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएपछि गणनाको काम अवरुद्ध भएको छ । मंगलबार जारी मतगणनामा खटिएका तिलोत्तमाका कर्मचारी गणेश गौतमले गणनामा फरक मत निकालेपछि कांग्रेस निकट कार्यकर्ताले नाराबाजी गर्दै मतगणना रोकेका हुन् ।
गणना रोकिएपछि निर्वाचन कार्यालय अगाडि नाराबाजी समेत चचेलको छ । निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले नगरपालीकाकै कर्मचारीहरु पनि राखेर भइरहेको गणनामा त्रुटी भयो भन्ने गुनासो आएपछि बाहिरका कर्मचारीले गन्नेगरी छलफल भइरहेको बताए । बाहिरी नाराबाजी शान्त नभएसम्मका लागि मत गन्न रोकिएको उनले बताए।
कांग्रेसका प्रतिनिधिहरूले गणनामा खटिएकामध्ये एक कर्मचारीले बदमासी गरेको र मत घटाएको भन्दै विरोध जनाएका हुन् ।कांग्रेस जिल्ला कार्यसमिति सदस्य कमला पाण्डेका अनुसार अघिल्लो दिन पनि मत घटाइदिएपछि विवाद भएको थियो ।
निर्वाचन अधिकृतको कार्यालय तिलोत्तमाले नै गणनामा गडबढी भएको पाइएको भन्दै विज्ञप्ति नै निकालेको छ । मंगलबार वडा नम्बर १६ र २ को मतगणना चलिरहेका बेला विवाद भएको हो । उम्मेदवारले पाएको वास्तवित मतभन्दा अभिलेखमा थोरै टिपाएको भन्दै कांग्रेसका समर्थकले नाराबाजी गरिरहेका छन् ।
कल्पना डुम्रे
