काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सडक संघर्षले हटाएका राजालाई सडक संघर्षबाटै ल्याउने उद्घोष गर्नुभएको छ ।
काठमाडौमा आयोजित पार्टीको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सडक र सदनबाट संघर्ष गरेर नागार्जुङमा रहेका पूर्व राजालाई नारायणहिटीमा ल्याउने दाबी गर्नुभयो ।
जनमत नभएका कारण अहिलेसम्म राजतन्त्र फर्काउन नसकेको भन्दै अध्यक्ष थापाले सडक र सदनको जनमतबाट राजतन्त्र फर्काउने दाबी गर्नुभयो ।
राप्रपाले राजा आउ देश बचाउ भन्ने नारा छाडेर जनता आउ राजा ल्याउ भन्ने नारा लगाउने तर्क गर्नुभयो ।
आफ्नो कार्यकालको सुरुमा पार्टी एकता कायम राख्न नसकेकोमा माफी माग्दै अध्यक्ष थापाले आफ्नै कार्यकालमा एकता गर्न सकेकोमा गर्व गर्नुभयो ।
उहाँले आगामी निर्वाचनमा पार्टी संसद् र सरकारमा राम्रो उपस्थिति हुने दाबी गर्नुभयो । विगतमा कांग्रेससँगको सहकार्यमा धोका भएको उहाँको भनाइ थियो ।
