काठमाडाैं,६ जेठ । सिद्धिचरण नगरपालिकाका नव निर्वाचित मेयर तेजेन्द्र खनालले समृद्ध सिद्धिचरण नगरपालिका बनाउन इमान्दारीताका साथ सबैको सहकार्यमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबार नगरपालिकामा पदभार ग्रहण गर्दै खनालले कोहीसँग पूर्वाग्रह नराखि राजनीतिक दल, नागरिक समाज र सबै क्षत्रका व्यक्तिहरुसँगको सहकार्यमा जनताका पक्षमा काम गर्ने बताएका हुन् ।
नगरपालिका क्षेत्रभित्रका सबै नागरिकका फरक फरक समस्याहरु छन’, खनालले भने,‘ति समस्याहरु पहिचान गरेर समाधान गर्दै नागरिकका पक्षमा इमान्दारिताका साथ लाग्ने छु । चुनावी मैदानमा जादै गर्दा कांग्रेसको उम्मेदवार भएपनि मेयर भैसकेपछि मलाई भोट दिने नदिने सबै जनता मेरा हुन् । सबैलाई समाज दृष्टिकोणबाट जनताको अभिमतलाई सम्मान गर्नेछु ।’ जनप्रतिनिधि पाँच वर्षका लागि आएको स्मरण गराउँदै खनालले स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्र बढी जनपक्षिय भएर काम गर्नु पर्ने बताए ।
कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्धलाई निकट राखेर जनताको सेवामा समर्पित हुने भन्दै मेयर खनालले खासगरी पिछडिएको बर्ग, महिला, दलितलाई प्राथमिक्तामा राखेर काम गर्ने प्रतिवद्धता जनाए । जनताका धेरै अपेक्षा रहेको र नगरपालिकाको श्रोत साधन सिमित भएपनि पाँच वर्ष भित्र निष्पक्ष भएर आम नगरबासीका मुद्धालाई सम्बोधन गर्ने बताए । हिजोका कामलाई अनुसरण गर्दै पुराना जनप्रतिनिधिहरुसँग समेत आवश्यक राय सुझाव लिएर काम गर्ने उनले बताए ।
महिलाको हकहितको निम्ती नेपाली कांग्रेस सधै सचेत रहेकाले आफू मेयर भएर आएपछि नगरपालिका भित्रका महिला, दलित, पिछडिएको वर्ग र क्षेत्रका नागरिकको मुद्धा कमजोर हुन नदिने बताए । उनले भने, ‘भौतिकरुपमा आफू पुरुष भएपनि महिलाका मुद्धा कमजोर हुने छैनन्, उनीहरुका हक हितका निम्ती निरन्तर लाग्ने छु ।’समृद्ध सिद्धिचरण नगरपालिका बनाउन सबैसँगको सहकार्य गर्दै भुगोल तथा जनताको अवस्था र आवश्यक्ता अनुसारका योजना बनाएर अघि बढ्ने बताए ।
आधिकारिक रुपमा आजबाट काम सुरु गरेका मातहतका जनप्रतिनिधिहरु र नगरक्षत्रका कर्मचारीहरुलाई मेयर खनालले काम गर्दा निष्पक्ष भएर जनताका पक्षमा इमान्दारिताका साथ लाग्न निर्देशन समेत दिएका छन् । पदभार ग्रहण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा निवर्तमान मेयेर माेहन कुमार श्रेषठले सबैकाे सबैसँगकाे सहकार्यमा काम गर्न नवनिर्वाचित मेयर खनाललाइ सुझाव दिए । श्नेष्ठले नगरपालिकाकाे उन्नतिका लागि आफू आवश्यक सल्लाह सुझावका लागि सधै तत्पर भएकाे भन्दै नवनिर्वाचित मेयर सहित सबै जनप्रतिनिधिहरूलाइ शुभ-कामना व्यक्त गरे ।
