काठमाडौं, १५ मंसिर । राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपाललाई कमजोर बनाउन धर्मनिरपेक्ष घोषणा गरिएको बताउनु भएको छ ।
काठमाडौंमा बुधवारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनमा बोल्दै लोहनीले देशलाई कमजोर बनाउन त्यस देशको धर्ममाथि प्रहार हुने गरेको बताउनुभयो ।
धर्मनिरपेक्ष घोषणा नेपालको धर्म संस्कृति मास्ने काम भएको उहाँले आरोप समेत लगाउनुभयो ।
त्यस्तै उहाँले हिन्दु र बौद्ध धर्म जोगाएर प्रवर्द्धन गर्दै अघि बढ्ने हो भने नेपाललाई विश्वकै तीर्थस्थल बनाउन सकिने बताउनुभयो ।
नेपालमा चारधाम रहेको छ उहाँले भन्नुभयो १८० करोड मानिसको तीर्थाटनका लागि नेपाल आउँदा यहाँको अवस्थामा परिवर्तन हुन्छ ।
विकासका नाममा भ्रष्टाचार भएको भन्दै उनले तर, जनता भोकभोकै, रोग र शोकले जीवन गुमाउनु परेको उहाँको भनाइ छ । ध्रुविकरण, राजनीति र प्रजातन्त्रको नाममा मुलुकमा भ्रष्टाचार बढेको लोहनीले बताउनुभयो ।
आफूलाई चाहिए अध्यादेश ल्याउने र काम सकिएपछि अध्यादेश फिर्ता लिने कार्यले कानुनी राज्यको उपहास गरेको डा। लोहनीले बताउनुभयो । यस महाधिवेशनले नेता र कार्यकर्तालाई बाँधेर अघि बढाउने विधान बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
