काठमाडौं, १५ मंसिर । आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवारको घोषणा गर्ने प्रतिवद्धता जनाएको कांग्रेस संस्थापन इतरपक्षले प्रदेशमा साझा उम्मेवार टुंगो लगाउन सकेन । शुक्रबारबाट सुरुहुने प्रदेश अधिवेशनमा आकांक्षी धेरैभएपछि संस्थापनइतर पक्ष साझा उम्मेदार चयन गर्न नसकेको हो । कांग्रेसले सातै प्रदेशमा बिहिबारदेखि शनिवारसम्म प्रदेश अधिवेशनको कार्यतालिका बनाएको छ ।
सातै प्रदेशमा उम्मेदवार छान्नका आज बसेको सस्थापनइतर समुहको बैठकमा सहमति हुन सकेन । अन्तिममा सम्बन्धित प्रदेशका नेताहरूलाई जिम्मेवारी दिने सहमति भएको नेता वल बहादुर केसीले बताउनुभयो । बिहान महामन्त्री शशांक कोइरालाको निवासमा बसेको समूहको बैठकले सातै प्रदेशमा सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्ने प्रयास गरेको थियो ।
उम्मेदवारहरूका विषयमा छलफल भए पनि त्यसको अन्तिम टुंगो लगाउने गरी सम्बन्धित प्रदेशका नेताहरूबीच जिम्मेवारी बाँडफाँड गरिएको छ । प्रदेश अधिवेशनमा सहभागि हुन आजै नेताहरु आआफ्नो प्रदेश जान थालेका छन् । प्रदेश १ मा बलबहादुर केसी नेतृत्वमा केन्द्रीय सदस्यहरू महेश आचार्य, मिनेन्द्र रिजाल, शेखर कोइराला, सरिता प्रसाईं र गुरुराज घिमिरेलाई जिम्मेवारी दिइएको छ । प्रदेश २ मा कोषाध्यक्ष सीतादेवी यादवको नेतृत्वमा रामकृष्ण यादव र किरण यादव तथा वाग्मती प्रदेशमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रामशरण महत र अर्जुननरसिंह केसीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, गण्डकी प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा शशांक कोइराला, दिलबहादुर घर्ती, कमला पन्त र जीवन परियारलाई जिम्मेवारी दिइएको छ । लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्यहरू दीपक गिरी र चन्द्र भण्डारी, कर्णाली प्रदेशमा हृदयराम थानी र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडू र बद्री पाण्डेलाई उम्मेदवार छान्ने अधिकार दिइएको छ ।
यसअघि संस्थापन पक्षले सातै प्रदेशमा उम्मेदवार छनौट र प्रतिस्पर्धाका लागि आफ्नो समूहका नेताहरुलाई जिम्मेवारी दिइसकेको छ । प्रदेश १ को विराटनगर, २ को जनकपुर, वाग्मतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा बिहीबार एकैदिन प्रदेश अधिवेशन सुरू हुँदैछ ।
कांग्रेसले यो महाधिवेशनबाट पहिलो पटक प्रदेशस्तरीय नेतृत्व चयन गर्न लागेको हो । प्रदेश १ मा कृष्णप्रसाद सिटौला, २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा प्रदेश महाधिवेशनमा आयोजक समिति बनेका छन् ।
