८ जेठ, काठमाडौं । धनुषाको स्थानीय तहमा प्रतिस्पर्धा गरेका मुख्य दलका जिल्ला अध्यक्षहरु नै पराजित भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी ९जसपा०, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्षले निर्वाचनमा पराजय व्यहोरेका हुन् ।
नेपाली कांग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियार क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा पराजित भएका छन् । उनलाई नेकपा एमालेका उम्मेदबार सुखदेव यादवले पराजित गरेका छन् ।
यादवले सात हजार ९१३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रस्पर्धी पजियार सात हजार ३०० मत ल्याएका छन् । पजियार निबर्तमान मेयर पनि हुन् ।
सबैला नगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव तेस्रो नम्बरमा रहे । यहाँ नेकपा माओवादी केन्द्रका कारीराम यादव चार हजार २१२ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका जगतसुन्दर साह चार हजार ७६ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।एमालेका जिल्ला अध्यक्ष राजकिशोर तीन हजार ५८१ मतसहित तेस्रो स्थानमा आएका छन् ।
जनता समाजवादी पार्टी ९जसपाका जिल्ला अध्यक्ष पशुपति यादव कमला नगरपालिकामा पराजित भएका छन् ।उनी नेपाली कांग्रेसका उम्मेदवार विशेश्वर यादवसँग एक हजार २८ मतअन्तरले पराजित भएका हुन् । निर्वाचित भएका विशेश्वरले तीन हजार ८८७ मत पाउँदा पशुपतिले २ हजार ८५९ मत पाएका छन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव धनुषाधाम नगरपालिकाको मेयरमा पराजित भएका छन् । उनी तेस्रो नम्बरमा आएका छन् ।धनुषाधाममा कांग्रेसबाट बालेश्वर मण्डल दोस्रो पटक चार हजार ७१८ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका योगकुमार यादवले चार हजार १७९ मत प्राप्त गरेका छन् । यादव भने तीन हजार २५९ मत ल्याएर तेस्रो स्थानमा रहे ।
