काठमाडाैं,८ जेठ । पछिल्लो चार दिन यता सामाजिक सञ्जालमा ३ वटा पुराना यौन हिंसाका घटनाहरु बाहिरिए । गत बुधबार रोमी ( नाम परिवर्तन) ले आठ वर्ष अघि आफूमाथि भएको बलात्कारको घटनालाई टिकटक मार्फत सार्वजनिक गरेपछि आइतबार सम्ममा अन्य दुइ युवतिले पुराना घटनालाई बाहिर ल्याएका छन् ।
रोमीको घटना बाहिरिएपछि सदन देखि सडक सम्म हंगामा मच्चीएको छ । स्वतन्त्र युवाहरुको समुहले बलात्कार सम्बन्धी कानुनी हदम्याद समेत खारेज गर्न माग गर्दै सडक तताएका छन । संघीय सदनमा गगन कुमार थापा, डिला संग्रौला लगायत सांसदहरुले घटनालाई गम्भीर रुपमा लिएर कानूनी हदम्यादका विषयमा पुनःविचार गर्न माग गरेका छन् । उक्त घटनाका आरोपीत मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । उनिमाथि अर्की एक युवतीले समेत यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी परिषर नयँ बाँनेश्वर पुगेकी छन् ।
यो घटना साम्य भइनसक्दै इटहरीकी अर्की युवतिले ७२/७३ आसपासमा आफूमाथि यौन हिंसा भएको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलकी ति छात्राले आफू स्कुलमा पढ्दा तत्कालीन प्रिन्सिपल राज खड्काले बलात्कार गरेको आरोप लगाएर फेसबुक वालमा पिडक भनिएका खड्काको फोटो समेत पोष्ट गरेकी छन् । कक्षा ९ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा आफूलाई बलात्कार गरेको र खड्काले भिडियो बनाएर ब्ल्याकमेल गरेर दुई वर्ष सम्म निरन्त्र बलात्कार गरेको आरोप लगाएकी छन् । रेजिना नामको आइडीबाट उनले विगत सात वर्ष अघिको घटनाको विष्तृत विवरण सार्वजनिक गरेकी हुन् ।
शनिबार मात्रै प्रसिद्ध वन्यजन्तु फोटोग्राफर सागर गिरीलाई यौन दुर्व्यवहारको आरोप लगाएर सामाजिक सञ्जालमा छ्याप छ्याप्ती बनाइएको छ । गिरीले मानसिक दबाब र यातना दिदैँ यौन दुर्व्यवहार गरेको एक बालिकाले सामाजिक सञ्जाल इन्स्टाग्राम र ट्वीटर मार्फत सार्वजनिक गरेकी हुन । आँफुसँगै अरु चार बालिकाहरूलाई पनि गिरीले यौन दुर्व्यवहार गरेको उक्त पोष्टमा उल्लेख गरिएको छ । यी त सामाजिक सञ्जाल मार्फत पछिल्ला केही दिनयता आएका प्रतिनिधिमुलक घटना मात्र हुन् ।
आइतबार पनि ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ५ धिमिलेस्थित एक किशोरी अचेत अवस्थामा फेला परेकी छन् । जङ्गलमा फालेको अवस्थामा भेटीएकी १९ वार्षिय किशोरीलाई अज्ञात समुहले बलात्कार गरि अचेत बनाएर फालेको हुन सक्न प्रहरीले अनुमान गरेको छ । निजलाई उपचारका लागि ओखलढुंगा समुदायिक अस्पतालमा संभावना नभएर हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ ।
माघ १८ मा नेकपा (एमाले) जुम्लाका सांसद मोहन बानियाँले स्थानीय एक शिक्षकलाई बलात्कार गरेको अभियोग लागेको थियो । जुम्लाकी ती महिला शिक्षकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै प्रहरीमा उजुरी दिएकी थिइन । उनको उजुरीको आधारमा पक्राउ गरेका सांसद बाँनिया कारबाहीको दायरामै छन् । उनको सांसद पद समेत निलम्बन भएको छ । त्यस्तै एक नाबालिका गायिकालाई विवाहको प्रलोभनमा पारेर जवर्जस्ती यौन सम्बन्ध राखेको अभियोगमा अभिनेता पल शाहविरुद्ध मुद्धा चलिरहेको छ ।
जवर्जस्ती करणी भएको भनिएकी गायिका अहिले १७ वर्ष पुगेकी छन् । आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै उनले विभिन्न सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै प्रहरीमा उजुरी समेत दिएकी थिइन् । गत फागुन ११ गतेदेखि बेपत्ता भएकी मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको शव खाल्डोमा गाडेको अवस्थामा स्थानीय लालहिरा सामुदायिक वनमा फागुन १३ गते भेटियो । उनको बलात्कारपछि हत्या भएको थियो । उनलाई लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीले बलात्कारपछि हत्या गरेको आरोप लागेको छ ।
जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकालाई घर फर्किने क्रममा गिरीले बाटोमा नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरिएको हो । बलात्कारपछि घटनामा आफ्नो नाम जोडिने डरले गिरीले ढुङ्गाले हानेर बालिकाको हत्या गरेको उनले प्रहरीमा बयान दिएका छन् । त्यस्तै फागुन २७ गते मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी १८ महिनाकी बालिकाको बलात्कारपछि हत्या भएको थियो । सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको थियो । अचेत अवस्थामा भेटिएकी नाबालिकाको भोलिपल्ट बिहान उपचारका क्रममा विराटनगरस्थित नोवल अस्पतालमा मृत्यु भएको थियो ।
केही महिना अघि मोरङको लेटाङ नगरपालिका–५ मा शिक्षा विकास माध्यमिक विद्यालयका सामाजिक पढाउने ५६ वर्षीय मनोज पौडेलेले कक्षा ६ मा अध्ययनरत १२ वर्षी छात्रामाथि यौन दुर्व्यवहार गरे । शिक्षक पौडेलले पटक–पटक छात्रामाथि यौन हिंसा गरेको भन्दै स्थानीयवासीहरु आन्दोलनमा उत्रिदा एक जना महिला प्रहरी जवान उर्मीला श्रेष्ठको समेत निधन भएको थियो । चितवनको माडी नगरपालिका–१ स्थित सोमेश्वर उच्च माध्यामिक विद्यालयका लेखा विषयका शिक्षक सुरज लामिछाने २९ फागुनमा एक छात्रालाई यौन दुव्र्यवहार गरे । कक्षा ९ की छात्रालाई झोला नल्याएको विषयलाई लिएर उनले यौन दुर्व्यवहार गरेका थिए । यी घटनाहरु हामीलाई जानकारीमा आएका प्रतिनिधिमूलक घटना हुन् ।
हाम्रो समाजमा बलात्कार,यौन हिंसा र दुर्व्यवहारका घटनाहरु दैनिकजसाे बढ्दै गएको पाइन्छ । बालबालिकाहरुमा चेतनाको कमी, डर त्रास र पिडकको धम्कीपूर्ण र प्रलोभनयुक्त व्यवहारका कारण धेरै घटनाहरु बाहिर आउन सकेका छैनन् भन्ने पछिल्लो समयमा बाहिरिएका घटनाले पुष्टि गर्छ । नागरिकको चेतना बृद्धि र कानुनी आशा पलाएसँगै विविध कारणले ओझेलमा परेका यौन दुर्व्यवहार,बलात्कार र हिंसा सम्बन्धीका घटनाहरु बाहिरिने क्रममा रहेको अधिकारकर्मीहरु बताउँछन । सामाजिक सञ्जाल मार्फत निकै पुराना घटनाहरु सार्वजनिक हुन थालेपछि समाजमा एउटा तरंग उत्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको अभिलेख अनुसार सन् २०२१ बलात्कारका घटनाको संख्या ६४९, बलात्कार प्रयासका घटनाका संख्या १७७ रहेको छन भने यौन दुर्व्यवहारका ६१ वटा घटना घटेका छन् । यौन हिंसा, दुर्व्यवहार र बलात्कारका घटनामा सबैभन्दा बढी १८ वर्ष मुनीका बालिकाहरु पर्ने गरेका तथ्यांकले देखाउँछ । नेपालको कानुनअनुसार १८ वर्ष मुनीकासँग सहमतिमै पनि शारीरिक सम्पर्क राख्नु बलात्कार ठहरिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।
