काठमाडौं, १० जेठ । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले आफूलाई हराउन विपक्षीहरुले ठूला योजना बनाएका भएतापनि उनीहरु असफल भएको बताएकी छिन् ।
आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । गठबन्धन भित्रै चुनौती भएतापनि भरतपुरमा गठबन्धनमा रहेका दलहरु इमान्दार भएको बताउँदै उनले भनिन्, ‘रेनु दाहाल हराउनकै लागि विपक्षीहरुले ठूला योजना बुने तापनि भरतपुरअसफल भएको छ । हामी अब मतदाताले दिएको जिम्मेवारी पूरा गर्न लाग्ने छौं ।’ उनले पाँच दलीय गठबन्धन लामो समयसम्म टिक्ने बताइन् ।
उनले विगतका अधुरा काम पूरा गर्ने पनि बताइन् । भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने उनको भनाइ छ ।शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उनले स्पष्ट पारिन्। आफूले विगतमा गरेको कामको अनुमोदन भरतपुर महानगरवासीले गरिदिएको भन्दै उनले भनिन्, ‘योगदानमा कमी आउन दिने छैन, निराश हुन दिने छैन ।’
