बालेन साह : र्‍यापर, इन्जिनियरदेखि महानगरको मेयर सम्म

बालेन साह : र्‍यापर, इन्जिनियरदेखि महानगरको मेयर सम्म


  • 14.7K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 22.7K Views

    बालेन साह : र्‍यापर, इन्जिनियरदेखि महानगरको मेयर सम्म

    काठमाडौं, १३ जेठ । विगत करिव ६ महिना देखि नेपालका मेन स्ट्रिमका अनलाइन, पत्रिका, टेलिभिजन र सामाजिक सञ्जालमा व्यापक रुपमा चर्चा भएको नाम हो बालेन्द्र (बालेन) साह । 

    images

    र्‍यापर र स्ट्रकचरल इन्जिनियर समेत रहेका बालेनले सामाजिक सञ्जाल फेसबुकमा २०७८ साल मंसिर २९ गते बुधबार स्टाटस लेख्दै काठमाडौं महानगरको मेयरमा उठ्ने उद्घोष गरे  । त्यसयता उनी चौतर्फी चर्चाको शिखरमा  रहे । उनले खासगरी २०७४ कै निर्वाचनमा ‘यसपटक कसैलाई मतदान गरिनँ, अर्कोपटक आफैँलाई भोट हाल्नेगरी उम्मेदवार बन्छु’ भनेर फेसबुकमा पोष्ट गरेका थिए ।  

    साहको उक्त घोषणालाई कसैले मतलव पनि गरेनन् । जव सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषण गर्यो, उनले पनि आफ्नो उम्मेदवारी घोषणा गरे । बालेनले काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार घोषणा सार्वजनिक गरेसँगै मिडियाहरु र सामाजिक सञ्जालमा उनकाे बाक्लाे उपस्थिती रह्याे ।

    विस्तारै उनको चर्चा चुलिदै गयो । तर पनि बालेनको मत १० देखि १५ हजारकोबीचमा आउने दिग्गज विश्लेषकहरु देखि चियाचौतारीका फुस्रा विश्लेषकहरु समेतको विश्लेषण थियो । मेयरमा उम्मेदवारी दिने घोषणापछि कलाकार, पत्रकार, स्वतन्त्र युवाहरु र केही पाका एवं चर्चित व्यक्तिहरुले समेत एक पटक काठमाडौं महानगरको जिम्मा बालेनलाई दिनुपर्छ भन्नेकोणबाट सामाजिक सञ्जाल रंग्याएका थिए ।

    बबबबबबबबब.jpg

    नेपाली मिडियाहरुले उनको भिडियो बढी भ्युज बढाउँने प्रयोजनका लागि प्रयोग गर्दै आए । तर उनको जित हुन्छ भन्ने कुनै मिडियाले पनि कल्पना नगरी धमाधम कन्टेन्ट बनाए । बालेनले महानगरको मेयरमा उठ्छु भन्दै गर्दा उनी चर्चा बटुल्न उठि टोपलेका भनेर हल्का रुपमा लिनेहरुको संख्या पनि धेरै थियो । मेयरमा उठ्ने घोषणा गरेको केहि समय देखि उनी आफ्ना योजनासहित प्रस्तुत भए जसले गर्दा उनी प्रति आम नागरिकको र सञ्चारमाध्यमकाे ध्यान थप तान्यो । सामाजिक सञ्जालमा केही चर्चा भएपनि काठमाडौंकाे मेयरमा उदाउने उनकाे यात्रा कठिन हुने धेरैको बुझाइ थियो ।  विविध अनुमान र टिप्पणीहरुलाई पाखा लगाउँदै उनले काठमाडौं महानगरपालिकामा बाजि मारेरै छाडे  ।  
    । 
    बालेन्द्र साहको पारिवारिक पृष्ठभूमिलाई लिएर अनेकौं आँकलन र अड्कलबाजी हुने गरेको थियाे । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितले निर्वाचनको केही दिन अगाडी मात्र उनी मधेशी भएको र मधेशमा ठगेर काठमाडौंमा समेत ठग्न आएको भनि गम्भीर आरोप लगाएका थिए । उनको जन्म भने सन् १९९० अप्रिल २७ मा काठमाडौंको नरदेवीमा भएको हो । तर उनको पुर्ख्याैली थलो भने जनकपुर हो । उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण साह र धुर्वदेवी साहका छोरा हुन् । बालेनका एक दाजु, एक बहिनी र श्रीमती पनि छन् ।  

    सांगीतिक क्षेत्रमा वषौँदेखि रमाइरहेका बालेन सामाजिक र राजनीतिक क्षेत्रमा पहिल्यै देखि चासो राख्ने गर्दथे । सुरुमा विवेकशील पार्टीमा आकर्षित भएको भनिएपनि उनले आज सम्म कुनै पार्टीकाे सदस्यता लिएका छैनन् । उनले काठमाडौंको भिएस निकेतन कलेजबाट प्लस–टु गरेका थिए । ह्वाइट हाउस इन्सिच्यूट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रकचरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका उनले सांगीतिक क्षेत्रबाट राजनीतिक दलहरुको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै आएको थिए ।  

    उनी पहिलो संविधान सभाबाट संविधान निर्माण गर्न दबाब दिने कार्यक्रममा पनि सहभागी भएका थिए । त्यस्तै भारतले नेपाललाई नाकाबन्दी गरेको समयमा पनि सामाजिक सञ्जालको माध्यमबाट चलाइएको ‘एमआरआर’ तथा ‘दारी ग्याङ’ ले गर्ने सडक भोज जस्ता कार्यक्रममा पनि सहभागी हुँदै आएका थिए । गीतसंगीतको क्षेत्रमा रमाइरहेका उनी २०७२ सालको महाभुकम्पको समयमा समाजसेवामा तल्लिन भएर लागे । सायद ७२ सालको भुकम्प उनलाई समाजसेवामा परिचित गराउने एउटा सुनौलो अवसर बनेर आयो ।

    सोही समय देखि उनी समाजसेवीको रुपमा समेत चिनिन थाले ।  निकै चर्चित गीतहरु गाएका उनले आफू राजनीति गर्न भन्दा पनि सेवा र काम गर्न काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएको बताउँदै आएका थिए । राजनीतिक दलहरुले गरेको राजनीतिक कार्यप्रति असन्तुष्ट लागेर महानगरलाई दढ इच्छाशक्ति राख्यो भने बनाउन सकिन्छ भन्ने विश्वासकासाथ महानगरमा उम्मेदवारी दिएको उनको भनाइ थियो । स्थानीय तह भनेको राजनीति गर्ने थलो नभएर काम गर्ने निकाय भएको बताउने उनी स्थानीय तहमा पार्टीसँग सम्बन्धित मान्छेभन्दा पनि स्वतन्त्र व्यक्ति भएमा काम गर्न सहज हुने दृष्टिकोण राख्दै आएका थिए ।

    काठमाडौं महानगरको समस्यालाई पहिचान गरेर समाधान गर्ने उपायहरु आम नागरिक समक्ष राखेका बालेन्द्र र उनको योजनालाई काठमाडौंका जनताले पहिलो परीक्षामा नै पास गराए । काठमाडौंका जनताले बालेनलाई मात्र जिताएनन् वर्षौ पुराना दलहरुले आफ्नो पकड क्षेत्र मान्ने मान्यतालाई नमज्जाको झापड दिए । काठमाडौं महानगरका जनताले नेपाली राजनीतिप्रतिको वितृष्णालाई प्रस्तुत गरेको पनि राजनीतिक विश्लेषकहरु बताउँछन् ।

    बालेनलको जितलाई राजनीतिक दलहरुप्रतिको वितृष्णा पोखिएको रुपमा एक ढंगबाट विश्लेषण गरिन्छ भने अर्को ढंगबाट बालेनको योजनाहरु जनताको भावना र इच्छा अनुरुप भएको भनेर लिने गरिएकाे छ । बालेन्द्र साह काठमाडौं महानगरको मेयरमा साधारण मतान्तरको साथमा विजयी भएका होइनन् । अन्य पुराना र चर्चित दलका दिग्गज उम्मेदवारहरुलाई भारी मतान्तरले पराजित गर्दै काठमाडौं महानगरको नेतृत्वमा उदाएका हुन् । स्वतन्त्र रूपमा आएका मेयर बालेन साहले महानगरलाई कस्ताे रूपमा बदल्छन् त्याे  भने हेर्न बाँकी नै छ । नव निर्वाचित मेयर बालेनलाई कार्यसफलताकाे शुभ कामना ।

     

     


    पदम भुजेल
    लेखकबाट थप