काठमाडौं,१५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन् ।राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा खड्ग श्रेङ लिम्बू समेतका २७१ र नरबहादुर साँवा समेतका ५४७ गरी कूल जम्मा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा गरिएको उल्लेख छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए ।
मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी माफी मिनाहा गरिएको हो । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसकै अवसरमा मन्त्रिपरिषद्को जेठ १३ गतेको बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ कैदीको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम कैद माफी गरेकी छन् ।
