काठमाडौं,१५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा राप्रपा पार्टी नयाँ र विकल्प पार्टीको रुपमा विकास भैरहेको बताएका छन् ।
आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीको ३३ औँ स्थापना दिवसको अवसरमा पार्टी कार्यालय धुम्बराइमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘अहिले राप्रपा पार्टी देशको नयाँ र एक मात्र विकल्पको रुपमा विकास भैरहेको पार्टी हो’, उनले भने ‘गएको स्थानीय तहको निर्वाचनमा राप्रपा सिट संख्याको आधारमा केही सानो देखिएपनी प्राप्त लोकप्रिय मतमा आधारमा अन्य भन्दा कमजोर छैन । यस पाटीर्मा जनताको आकर्षक धेरै बढेर गएको छ ।’
उनले एउटा निर्वाचन सकियो भनेर राप्रपाका नेता कार्यकर्तालाई आराम गर्ने छुट नभएको बताए । संघीय र प्रदेश सभाको निर्वाचनको तयारीमा सबै निरन्तर रुपमा गएको चुनाबको भन्दा सक्रिय रुपमा लाग्नुपर्ने उनको भनाइ छ । अहिलेका ठुलो भनिने पार्टीहरु जनताको नजरबाट ओझेलमा पर्दै गएको बताउदै उनले यस अबस्थामा सबैले इमानदार भएर जनताको साथमा रहनुपर्ने बताए ।
पार्टी स्थापना दिवसको शुभकामना दिदै उनले आफूहरुको मुख्य टार्गेट आगामी निर्वाचन रहेको बताए । संघीय निर्वाचनमा राप्रपाले सफलता हात पार्ने उनले दाबी गरे । साथै राप्रपाले स्थापना दिवसको अवसर पारेर स्थानीय तहको निर्वाचनमा निर्वाचित आफ्नो पार्टीका जनप्रतिनिधिलाई सम्मान गरेको थियो ।
