काठमाडौं, १७ जेठ । नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका भिक्षु रिहा भएका छन् । चौतर्फी दबाबका बीच जिल्ला प्रशासन कार्यालयले उनलाई तीन हजार धरौटीमा छोड्ने आदेश दिएको हो ।
सिभिल मलमा ‘कबड्डी ४’ हेरेर निस्किने क्रममा आफूलाई भिक्षुले ब्याड टच गरेको आरोप मिरुनाले लगाएकी थिइन् । तर, निर्दोषलाई फसाएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । कबड्डी ४ टिमले नायिका र बुद्धिष्ट संघ-संस्थाबीच छलफल गराएको थियो ।
जिल्ला प्रशासन कार्यालयको रोहबरमा तामाङलाई रिहा गरिएको काठमाडौं प्रहरीका प्रवक्ता दिनेश मैनालीले पुष्टि गरे । अभद्र व्यवहारको कसुरमा तामाङमाथि प्रहरीको अनुसन्धान भने जारी रहने उनले बताए । मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।
