काठमाडाैं,१७ जेठ । सिराहा प्रहरीले बाबु छोराको हत्यामा संलग्नको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–४ का ६५ बर्षीय बेचु पाल, अर्नामा गाउँपालिका–४ कि २६ बर्षीया शान्तिदेवी पाल र अर्नामा गाउँपालिका–१ महनौरका ४८ बर्षीय जनिफ मियाँ छन् ।
सिरहाको अर्नामा गाउँपालिका–१ महनौरका सन्तकुमार पालको ११ जेठका लागि विवाह तय भएको थियो । तर १९ वर्षीय सन्तकुमार र उनका बुवा चन्द्रदेव पालको ८ जेठको राति उनीहरु सुतिरहेकै ठाउँमा हत्या भयो । गोठभित्रको खाटमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहारबाट उनीहरुको हत्या भएको थियो । उनीहरुको हत्यामा सोही विवाह, दाइजो र पारिवारिक झगडा जोडिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी शान्तिदेवी मृतक चन्द्रदेवकै बुहारी हुन् । प्रहरीले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ । आफूले भन्दा कम दाइजो लिएर विवाह गर्न लागेको रिसइबीमा हत्या गरेको देखिएको प्रहरीको भनाइ छ । विवाहमा सन्तकुमारलाई केटी पक्षले दाइजोस्वरुप १ लाख रुपैयाँ नगद, एउटा मोटरसाइकल र ८ आना सुन दिने सहमति भएको पाइएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।
तर सन्तकुमारको विवाह पक्का भएको युवतीसँग गोलबजार बस्ने बेचु पालका छोरा प्रदीको विवाहको कुरा चलेको थियो । त्यतिबेला केटी पक्षले विराटनगरमा घडेरी दिने, घर बनाइदिने र कुनै व्यवसाय सुरु गर्न लगानी गरिदिने प्रस्ताव गरेको देखिएको प्रहरीको भनाइ छ ।
