काठमाडाैं, २३ जेठ । स्थानीय तह निर्वाचन २०७९ मा केही स्वतन्त्र व्यक्तिहरु चर्चाको चुलीमा पुगे । चुनावको केही महिना अघि मात्रै काठमाडौं महानगरपालिकाको मेयर बन्ने घोषण गरेका बालेन्द्र शाह (बालेन) चुनावपछि महानगर प्रमुखको कुर्चीमा छन् ।
त्यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पनि स्वतन्त्रबाटै जितेका हुन् भने धनगढीका गोपाल हमाल पनि स्वतन्त्र उम्मेदवार उठेर मेयर बनेका हुन् । हमाल विवेकशील साझा पार्टीमा आवद्ध भएपनि स्वतन्त्र उम्मेदवारी दिएर मेयर बनेका हुन । तर बालेन र हर्क भने कुनै दलमा आवद्ध थिएनन । हर्क सुशासन अभियान्ता हुन् भने बालेन इन्जिनियर हुन् । यी दुवैले जनतामाझ लोकप्रिय एजेण्डाहरु लिएर पुगेका थिए । बालेनले काठमाडौंको फोहोर व्यवस्थापन, शुशासन र सहज सेवा प्रवाहको एजेण्डा बोकेर मतदाताका माझ जाँदै गर्दा धनकुटाका हर्क राइलेपनि शुशासन र खानेपानीको समस्या समाधान गर्ने योजनालाई प्राथमिकता दिएका थिए ।
गोपालका एजेण्डा भने खासै चर्चामा आएनन् । स्वतन्त्रबाटै जितेपनि उनलाई दलका नेताहरुले स्वतन्त्र व्यक्तिकोरुपमा हेर्ने गरेका छैनन् । दलहरुले नै सहयोग गरेर चुनाव जिताएकोे सिनियर नेताहरुले चर्चा गर्दै आएका छन् । नितान्त स्वतन्त्र उम्मेदवार बनेर देशका ठूला सहरमा ठूला दलहरुलाई हराउँदै मेयर बनेका काठमाडौं महानगरका मेयर बालेनलाई देशका ठूला साना सबै मिडियाले निरन्तर सहयोग गरिरहे, उनका एजेण्डा जनतामाझ पुर्याइदिइरहे भने हर्क मिडियाको नजरमा खासै पर्न सकेनन् । उनका एजेण्डा मिडियाको नजरमा छायाँमा परेपनि जनतालाई एक्लै सुनाइरहे । फलस्वरुप देशभरको ध्यान तानिएको काठमाडौं र धरानमा यीनै स्वतन्त्रको जित भयो ।

देशका ठूला शक्ति भनिएका काग्रेस–एमालेका नेताहरुले नै हार व्यहोर्नु पर्यो । दलहरुका लागि यो सिकाइको विषय बनेको नेताहरुले स्वीकार गरेका छन् । नव निर्वाचित जनप्रतिनिधिले काम सुरु गरिसकेका छन् । यो निर्वाचनमा पाँच वर्षमा राम्रो काम गर्नेहरू दोहोरिए भने जनताको नजरमा काम नगरेकाले पुनः निर्वाचित हुन सकेनन् । पून दोहोरिन चाहाने धेरैका लागि यो निर्वाचन अभिसाप बन्यो । उनीहरुको पाँच वर्षे कार्यकालको मूल्यांकन जनताले मतबाट गरे । नवनिर्वाचित जनप्रतिनिधिहरुले आगामी दिनमा यसलाई सिकाइको विषय बनाउनु पर्छ ।
अहिलेका अधिकांश जनप्रतिनिधिहरुले निर्वाचनमा धेरैले लोकप्रिय तर कार्यन्वायन नहुने विषयलाई प्रतिवद्धतापत्र मार्फत उठाएका छन् । जसको कार्यान्वायन हुन सकेनभने पाँच वर्षपछि जनअदालतमा हाजिर हुँदा गर्ने जनताको फैसलाले फेरी जनसेवामा नफर्क भन्ने निर्णय गर्नसक्ने कुरालाई पनि हेक्का राख्नु पर्ने हुन्छ । फोहोर व्यवस्थापन, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय र सुन्दर नगरको परिकल्पना जनतामाझ लगेर काठमाडौं महानगरपालिकाको मेयर जितेका बालेन शाहले सिसडोल, बञ्चरेडाँडालगायत फोहोर व्यवस्थापन र डम्पिङ साइटको अवलोकण भ्रमण गरिसकेका छन् । अनुगमनका क्रममा मेयर शाहलाई स्थानीयले केही आक्रोश पनि पोखे ।
काठमाडौंको फोहोर व्यवस्थापनको मुख्य समस्या ल्याडफिल्ड साइड अभाव नै हो । सिसडोल र बञ्चरेडाँडामा फोहोर लैजान नदिने भन्दै वर्षैदेखि स्थानीयहरु आन्दोलनरत छन् । यस पटक पनि मेयरलाई स्थानीयले अवरोध गर्न खोजे । तर त्यसको विकल्प सहित प्रस्तुत भएको भन्ने मेयर बालेनको अभिव्यक्तिप्रति नागरिक केहीहद सम्म साम्य भए । तत्काल बैकल्पीक व्यवस्था के हो त भन्न सक्ने अवस्था छैन । राजधानीमा फोहोरको डंगुरले बसी नसक्नु भइसकेको छ । फोहोर नउठाएको हप्तौँ भइसकेको छ । गत जेठ १३ गते महानगरमा निर्वाचित मेयर र उपमेयरले पहिलो साताभित्र काठमाडौंको फोहोर व्यवस्थापन गरिसक्ने घोषण गरेका थिए । फोहोर व्यवस्थापन नगरी मेयरमा विजयी भएको माला नलाउँने प्रतिज्ञा गरेका मेयर शाहले दशतिर भौतारिदा समेत फोहोर व्यवस्थापनको गतिलो उपाए अझै भेटेका छैनन् ।
मेयरले माला लगाउने दिन कहिले आउँछ ? भनेर काठमाडौंबासीहरुले प्रश्न गर्न थालेका छन् । फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज भएकाले शहरमा दैनिक फोहोरको डंगुर बढीहरेको छ । सडकपेटीहरु दुर्घन्धीत भएका छन् । फोहोरकै कारण रोगको संक्रमण फैलन सक्ने त्रास शहरबासीमा बढेको छ । मेयरमा विजेता घोषित भएपछि काठमाडौं महानगरलाई विश्वमै सुन्दर, सभ्य र विकसित बनाउने आफ्नो लक्ष्यमा पुग्न काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका शाहलाई फोहोर व्यवस्थापनमै कठिन हुने देखिएको छ । ठूला होटल र रेष्टुरेन्टहरुका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा विकास गराउँने उनको योजना कार्यन्वायनको चरणमा छन् ।
राज्य पुनर्संरचनापछि ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका गरी २ सय ९३ सहर घोषणा भएका र करिब ६५ प्रतिशत जनता सहरमा बसोबास गर्न थालेका छन् । देशमा आठवटा राजधानी बनेका छन तर मापदण्ड र आवश्यक पूर्वाधार शुन्य छ । यी शहरहरुको समस्या पनि उस्तै रहेका छन्, तर सबैभन्दा बढी जनघनत्व भएको शहर कामाडौंमा पहिलो चुनौतिको रुपमा देखापरेको फोहोर व्यवस्थापनको विषयले नवनिर्वाचित मेयर बालेन शाहमाथि ठूलो संकट आइलागेको छ । बाहिर हुँदा जसरी जनताको अवस्था र आवश्यक्ताको पहिचान गरी जिम्मेवारीमा रहेकाहरुलाई गालि गर्न र जनताको आवाज उठाइदिन सजिलो हुन्छ जिम्मेवारी पुरा गर्ने तहमा पुगेपछि व्यवस्थापन र कार्यान्वायन त्यत्तिकै चुनौतिपूर्ण खेप्नुपर्ने बालेनले अहिले महसुस गर्नथालेका होलान् ।
चुनावी मैदानमा जाँदै गर्दा नेताहरुले अरुले गर्न नसकेका कुरालाई खोट्याउने र आफूले सबै समस्या हल गर्छु भन्ने हुँकारका साथ लागेका हुन्छन् । मेयर शाहको योजना, प्रतिवद्धता र कामको सुरुवातिमै टिप्पणी गरिहाल्दा अलि हतारो होला । तर बालेनलाई पनि यही समस्याले ग्रस्त बनाएको हुन सक्छ । उनको दृष्टिकोण र योजना काठमाडौं महानगरपालिकाकालागि आफैमा उत्कृष्ट छन् । तर यसको कार्यन्वायनका चुनौतिको सामना गर्न सक्ने सामथ्र्य उनिसँग छ कि छैन समयले बताउँला । खैर उनको सुरुकै प्रस्तुति र कार्यशैलि त्यती पाको थिएन भन्न सकिन्छ ।
दलिय व्यवस्थामा स्वतन्त्र उम्मेदवार भएर मेयर जितेका शाहले कुन दलका को–को सँग कसरी समन्वय गर्ने र दलिय आधारमा आएका कार्यपालिका सदस्य (वडा अध्यक्ष) हरुलाई कसरी मिलाएर आफ्ना एजेण्डाहरु कार्यपालिकाबाट पास गराउने भन्ने चुनौति पनि उनीमाथि छदैछ । सुरुमै उनले फोहोर प्रशोधन मेसिन ल्याउने प्रस्ताव गरेपनि तत्काल सडकमा थुपारिएको फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने उपाए निकाल्न सकेका छैनन् । गर्मी तथा वर्षायाममा फोहोरको डंगुरबाट झिंगा, लामखुट्टे, मुसा, चरा तथा गाडीका पाङ्ग्रा, जुत्ता चप्पलबाट वरिपरि तथा घरभित्र संक्रमण पुग्छ । रसाएको फोहोर पानी तथा अन्य जीवजन्तुबाट पानीका स्रोतहरू पनि संक्रमित हुन्छन् । जसबाट कीटजन्य, पानीजन्यलगायतका संक्रमणहरूले महामारीको रूप लिन सक्छन् ।

यसका कारण काठमाडौंबासी नागरिकहरु जन्डिस, हैजा, झाडापखाला, आऊँ, हेपाटाइटिस, टायफाइड र छालाजन्य तथा एलर्जिक समस्याहरू र मौसमी रोगहरू जस्तै शीतलहर र विभिन्न फ्लुको लगायतका प्रकोपको शिकार बन्न पुग्ने खतरा बढेको छ । सडक, चोक र गल्लीको फोहोर सभ्य समाजका लागि लाज हो। प्रत्येक घर, अस्पताल, कारखाना, संघसंस्थाहरूले आफ्नो फोहोर आफैं जम्मा गरेर व्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्छ। फोहोर व्यवस्थापन प्रत्येक नागरिकको कर्तव्य हो । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौंको गोर्कणेश्वर नगरपालिकाले घरघरबाट निस्कने फोहोरलाई धुवाँरहितरूपमा जलाउने जापानी प्रविधिको इन्सिनरेटर जडान गरी आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरु गरेको जनाएको छ ।
मेसिनले निस्केको धुवाँलाई मेसिनभित्रै फिल्टर गरेर धुवाँ शुद्धीकरण गरी मानिसले प्रयोग गर्न सक्ने बाफको रूपमा बाहिर फाल्छ । कुहिने र नकुहिने दुवै फोहोर सुकाएर जलाएर खरानी बनाउन सक्छ । फोहोरलाई पुनः प्रयोग, पुनर्निर्माण र कम गर्ने गरी तीन भागमा विभाजन गर्दैं शून्य फोहोर र थ्रीआर—रिडक्सन, रियुज र रिप्रोडक्ट सिद्धान्तमा आधारित भएर प्लान्ट बनाइनु जरुरी छ । यसकालागि काठमाडौं महानगरपालिकाले पनि बेलैमा उपायहरु खोज्नु जरुरी छ । महानगरले सिसडोल र बञ्चरेडाँडा पर्खेर समस्याको समाधान नहुँने हुँदा गोर्कणेश्वर नगरपालिकाले जस्तै बैकल्पीक उपयहरु अवलम्बन गर्नु आवश्यक छ । यसरी काठमाडौंलाई फोहोर मुक्त शहरका रुपमा हेर्न लायक बनाउँने र मेयर बालेनले विजयउत्सवमा नलगाएको माला चाँडै लगाउँने वातावरण बनाउँनु पर्छ भन्ने हाम्रो मत हो । तर काठमाडौंको फोहोर व्यवस्थापन गरेर मेयरले माला लगाउन कति समय लाग्ला ? त्यो भने मेयर शाहकै हातमा छ ।

