काठमाडौँ, मंसिर १७ । संसद् सचिवालयका महिला कर्मचारी माथि यौन दुर्व्यवहारकाे मुद्दा लागेपछि पूर्व सभामुख कृष्णबहादुर महराप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल रुष्ट हुनुभयो । त्यस घटनालगत्तै दाङ पुगेका बेला प्रचण्डले दिएको अभिव्यक्तिले महरा ‘प्रचण्ड कित्ता’ बाट टाढिइसकेको प्रमाणित गरेको थियो । उहाँले त्यो बेला भन्नुभएको थियो- ‘उहाँले मलाईसम्म पनि ढाँट्नु भयो, उहाँ माफीको लायक हुनुभएन ।’
त्यस घटनापछि ‘शालिन महरा’ को शालिनता भंगमात्रै भएन, उहाँको लामो माओवादी राजनीतिक इतिहास ‘ध्वस्त’ हुने लख काटिएकै थियो । अध्यक्ष दाहाल स्वयं उहाँप्रति ‘क्रुद्ध’ बनेका कारण पनि महराको राजनीति समाप्तितर्फ उन्मुख हुने आकलन भएको थियो ।
महराले त्यस मुद्दामा ‘सफाइ’ पाएसँगै उनै प्रचण्डले महराका लागि पुनः सकृय राजनीतिको बाटो खोलिदिनुभयो । अहिले उनै महरालाई दाहालले आफूपछिको माओवादी ‘बिरासत’ थामिदिने नेताका रूपमा हेरिरहनुभएको छ कि भन्ने आशंका गरिएको छ ।
महराप्रतिको आक्रोश दाहालले किन थाम्नुभयो ? यो विषयमा प्रमुखतः तत्कालीन माओवादी नेता रामबहादुर थापा जोडिनुभएको थियो । मोहन बैद्य नेतृत्वको माओवादी छाडेर पुनः माओवादी केन्द्रमा पाइला फर्काएका थापा दाहालका निकटस्थ बन्नु स्वाभाविकै थियो । फलतः दाहालले उनै थापालाई आफ्नो बिरासत थामिदिने भविष्यका ‘नेता’ का रूपमा स्थान दिनुभयो ।
‘महरापछि रामबहादुर थापालाई नै प्रचण्डले आफूपछिको नेताका रूपमा हेर्नुभएको थियो नै,’ माओवादी केन्द्रका एक नेताले भने- ‘तर दाहालले धोका पाउनुभयो ।’
निकै विश्वास गरिएका नेता थापा नेकपा खारेजीपछि केपी ओलीको पछि लागेर एमालेमा भित्रिनुभयो । दाहालका लागि यो ठूलो धोकामात्रै थिएन, आफूपछि नेकपाको बिरासत धान्ने ‘पिलर’ नै गायब भएको आभाष उहाँका लागि स्वाभाविकैरूपमा भयो नै । ‘बादल सम्बन्ध’ बिच्छेद भएपछि अत्तालिएका दाहाल अब आफ्नो उत्तराधिकारी को ? भन्ने चिन्तनमा रहेको माओवादीवृत्तमा चर्चा चल्ने गरेको छ ।
माओवादी अध्यक्ष दाहालका सम्भावित उत्तराधिकारीका लागि अब कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, जनार्दशन शर्मा र वर्षमान पुन ‘रेस’ मा देखिनुभएको छ । तर, दाहाल भने कसलाई विश्वास गरेर अघि बढ्ने भन्ने अन्योलमा देखिनुहुन्छ ।
सफाइ पाएपछि महरालाई दाहालले दिएको ‘स्पेश’ ले महरा नै उहाँको उत्तराधिकारी बन्ने सम्भावना माओवादीभित्र देखिन्छ । दाहालले महरालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइसक्नुभएको छ ।
एमसीसीका बिषयमा चर्को ‘महरा-विरोध’ लाई दाहालले स्वीकार्न सकेमात्रै दाहालसँग ‘महरा-सामिप्य’ गाँसिने सम्भावना आकलन गरिएको छ । त्यसो त महराले आफूमाथि लागेको अभियोगको मुल जड नै आफूले गरेको एमसीसीको बिरोध रहेको भन्दै आउनुभएको छ ।
सरकारमा अहिले अर्थमन्त्रीको ओहदामा रहनुभएका जनार्दन शर्मालाई दाहालले कम विश्वास गरेको मान्न सकिंदैन । वर्तमान सरकारमा आफ्नो पार्टीका तर्फबाट नेतृत्व गर्न शर्माको नाम तोक्नुभएका दाहालका लागि जनार्दन शर्मा अर्का सम्भावित उत्तराधिकारी हुनुहुन्छ ।
यसैगरी, अर्थमन्त्री भइसकेका वर्षमान पुन पनि दाहालका अर्का विश्वास पात्र हुनुहुन्छ । तर, उहाँको अस्वस्थताका कारण उत्तराधिकारी तोक्न दाहाललाई सकस छ नै । केही समयदेखि अस्वस्थ रहँदै आउनुभएका पुन अहिले चीनमा उपचाररत हुनुहुन्छ ।
नेकपा छँदा पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठलाई भने दाहालको उत्तराधिकारी बन्न सजिलो छैन । नेकपामा पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका श्रेष्ठ माओवादीमा भने अहिले त्यो भूमिकामा हुनुहुन्न । उहाँको स्थान महराले ओगटिसक्नुभएको छ ।
त्यसो त, सरकारमा श्रेष्ठको प्रतिनिधित्व नगराइनुले पनि दाहालको उत्तराधिकारी बन्ने कम सम्भावनाको सूचीमा उहाँ हुनुहुन्छ । श्रेष्ठले माओवादीबाट नेतृत्व गर्दै सरकारमा प्रतिनिधित्व गर्ने इच्छा प्रकट गर्दै आउनुभएको थियो तर दाहालले उहाँलाई मन्त्री नै बनाउनुभएन ।
पार्टीभित्र केही फरकधारको विचार राख्दै आउनुभएका श्रेष्ठलाई ‘आयातीत’ नेताका रूपमा माओवादीवृत्तमा चिन्ने गरिन्छ । फरक दलबाट प्रवेश गरेका नेता भएका कारण पनि श्रेष्ठलाई उचो हैसियत दिन दाहालसँगै अन्य नेता पनि हच्कने गरेको माओवादी स्रोत बताउँछ ।
