काठमाडौं, १७ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पूर्णरूपमा निको नहुँदै अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
कोरोना संक्रमणपछि सोमबार बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना हुनुभएका जबरा आज बिहान ९ः३० बजे डिस्जार्च हुनुभएको हो ।
कोभिड–१९ को उपचारका लागि अस्पताल भर्ना हुनुभएका जबरा स्वास्थ्यलाभ गरी फर्किएको अस्पतालका प्रवक्ता डा. प्रबिन नेपालले जानकारी दिनुभयो । तर, उहाँ निकट स्रोतले अहिले पनि पूर्णरूपमा निको नभएको बताएका छन् । उहाँकी छोरीमा पनि संक्रमण देखिएको स्रोतको भनाइ छ ।
प्रधानन्यायाधीश जबराले बिहीबार नै न्यायाधीश हरिकृष्ण कार्कीलाई आज डिस्चार्ज हुने जानकारी गराउनुभएको थियो । सर्वाेच्चमा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिने विषयमा छलफल हुँदैगर्दा जबराले आफू बिदामा नबस्ने बताउनुभएको थियो । उहाँले बिदा नबस्ने र सरकारी निवासबाटै काम गर्ने बताउनुभएको छ ।
बुधबार कानुन व्यवसायीले कायम मुकायम प्रधानन्यायाधीशबारे प्रश्न उठाएपछि इजलाश प्रभावित भयो । बिहीबार पनि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेपछि पेसी तोक्न ढिलाइ भयो ।
बिहीबार वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकलसहित १० वटा इजलास तोकिए । बिहीबार न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दामात्रै हेरे ।

