काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत १६ जिल्लामा अधिवेशन स्थगन हुँदा १६ जना अपाङ्गता भएका व्यक्तिहरु जिल्लामै रोकिने भएका छन् ।
प्रत्येक जिल्ला अधिवेशनमार्फत एक जना अपाङ्गता भएका व्यक्तिलाई महाधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित गर्ने प्रवधान छ । तर, १६ जिल्लामा अधिवेशन स्थगित हुँदा जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा आउने १६ जना अपाङ्गता भएका नेताहरु जिल्लामै थन्किने भएका हुन् ।
आन्तरिक विवादका कारण समयमै जिल्ला अधिवेशन सम्पन्न हुन नसकेपछि कांग्रेसले बिहीबार १६ जिल्लाको अधिवेशन स्थगन गरेको छ । प्रदेश दुईका आठ जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीमा जिल्ला अधिवेशन स्थगन गरिएको छ ।
त्यस्तै, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, नवलपरासी, बाँके, अछाम, कैलाली, र चितवनमा जिल्ला अधिवेशन रोकिएको छ ।
पटक-पटक ताकेता गर्दा पनि जिल्लामा बढ्दो गुटगत राजनीतिका कारण महाधिवेशनको मुखैमा जिल्ला अधिवेशन स्थगन गर्नुपरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
जिल्ला अधिवेशन अघि बढाउँदा प्रदेश अधिवेशन प्रभावित हुने भएपछि १६ जिल्ला अधिवेशन रोकिएको निर्वाचन समितिको भनाइ छ । तर, १६ जिल्लाको अधिवेशन स्थगित हुँदैगर्दा ठुलो संख्यामा अपाङ्गता भएका कांग्रेस नेता कार्यकर्ता जिल्लामै रोकिने केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले बताउनुभयो ।
अपाङ्गता भएकाको कोटामा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिका रुपमा आउने व्यवस्था भए पनि जिल्ला अधिवेशनबाट पनि एक जना अपाङ्गता भएका व्यक्तिलाई महाधिवेशन प्रतिनिधिमा ल्याउने व्यवस्था भएको सचिव रिजालले बताउनुभयो ।
कतिपय जिल्लाको क्षेत्रीय अधिवेशनमा अपाङ्गता कोटामा नअटाएकालाई जिल्ला अधिवेशनबाट ल्याउने प्रावधान गरिए पनि जिल्ला संयन्त्रका कारण असफल भएको सचिव रिजालले बताउनुभयो ।
कांग्रेसको विधानमा जिल्ला अधिवेशनबाट एक जना अपाङ्गता भएका व्यक्तिलाई महाधिवेशन प्रतिनिधिका रुपमा ल्याउने प्रावधान रहेको सचिव रिजालले बताउनुभयो । तेस्रो आँखासँग कुरा गर्दै सचिव रिजालले केन्द्रीय महाधिवेशनमा उम्मेदवारी दिने तयारी गरेका अधिकांश नेता निराश हुने अवस्था रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो- क्षेत्रीय अधिवेशनबाट सो कोटाबाट महाधिवेशन प्रतिनिधि आए पनि जिल्ला अधिवेशनबाट आउन चाहेका र व्यवस्थापन गर्नुपर्ने नेता कार्यकर्ता छुट्ने भएका हुन् ।
कांग्रेसले अहिलेसम्म ६१ जिल्लामा जिल्ला नेतृत्व चयनकाे काम सम्पन्न गरिसकेको छ ।
कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्दैछ ।

